काठमाडौं– २५ लाख रुपैयाँ लुटपाट गर्ने प्रयास गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार कृष्ण शाही पक्राउ परेका छन्। शाही उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहेको खुलेको छ।
प्रहरी वृत्त महाराजगञ्जको टोलीले शाहीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो। उनीसँगै सिन्धुपाल्चोकका अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले नक्कली सुन देखाएर २५ लाख रुपैयाँ लुटपाट गर्ने योजना बनाएको खुलेको प्रहरी स्रोतले जनाएको छ। नक्कली सुनलाई खल्तीबाटै देखाएर पीडितलाई विश्वासमा पार्ने र त्यसपछि रकम लुट्ने योजना बनाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।
प्रहरीका अनुसार घटनामा चार जनाको समूह संलग्न रहेको देखिएको छ। समूहका दुई जना पक्राउ परिसकेका छन् भने अन्य दुई जना फरार रहेका छन्।
प्रहरीले फरार रहेका दुई जनाको खोजी तीव्र बनाएको जनाएको छ। घटनामा प्रहरी कर्मचारीकै संलग्नता देखिएपछि प्रहरीले उनको भूमिकालगायतका विषयमा समेत थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया