ठेक्का ओगट्ने तर काम नगर्ने सात निर्माण व्यवसायी कालोसूचीमा

मंगलबार, ०२ भदौ २०८३, १२ : १९

काठमाडौं- ठेक्का सम्झौता गरेर काम नगर्ने सात निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम उनीहरूलाई कालोसूचीमा राखेको हो।

कार्यालयका अनुसार नमादेउ निर्माण सेवा, बागेश्वरी मल्टिप्रपोज निर्माण सेवा, रामेछाप कन्स्ट्रक्सन प्रालि, सन्तोषी निर्माण सेवा, रमन कन्स्ट्रक्सन प्रालि, सुगम निर्माण सेवा र ओम इन्फ्राटेक प्रालिलाई कालोसूचीमा राखिएको छ।

ठेक्का लिएर तोकिएको जिम्मेवारीअनुसार काम नगरेको तथा सार्वजनिक खरिद प्रक्रियामा सम्झौता पालना नगरेको लगायतका कारण उनीहरूमाथि कारबाही गरिएको कार्यालयले जनाएको छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा परेका यी निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले अब आगामी तीन वर्षसम्म सार्वजनिक निकायबाट हुने कुनै पनि खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन्।

सार्वजनिक निर्माण तथा खरिदका काममा ठेक्का लिएर लामो समयसम्म काम नगर्ने, सम्झौताअनुसार जिम्मेवारी पूरा नगर्ने र आयोजनालाई अलपत्र पार्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले कालोसूचीको व्यवस्था गरेको छ। कालोसूचीमा परेपछि सम्बन्धित कम्पनीले सरकारी तथा सार्वजनिक निकायका नयाँ ठेक्का प्रक्रियामा सहभागी हुनबाट वञ्चित हुनुपर्नेछ।

मंगलबार, ०२ भदौ २०८३, १२ : १९

प्रतिक्रिया