काठमाडौं– नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको प्रशिक्षण तथा तालिम सञ्चालन समितिको संयोजनमा सुन, चाँदी, रत्न तथा आभूषण व्यवसायलाई लेखा तथा करसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रचलित कानुनबमोजिम व्यवस्थित, पारदर्शी तथा सहज रूपमा व्यवसाय सञ्चालन गर्न व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले महासंघद्वारा आयोजित दुईदिने लेखा तथा करसम्बन्धी प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो ।
यही भदौ १ र २ गते दुई दिन सञ्चालित प्रशिक्षणमा व्यवसायीहरूलाई लेखा तथा कर प्रणालीका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।
कार्यक्रमको संयोजन महासंघका कोषाध्यक्ष गणेशप्रसाद विश्वकर्माले गरेका थिए भने महासंघका लेखा परामर्शदाता तथा चार्टर्ड एकाउन्टेन्ट महेश पोखरेलले लेखा सम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै महासंघका कोषाध्यक्ष लकान्द्रीले व्यवसायीहरूका व्यवसाय अभिवृद्धिका लागि प्रशिक्षण तथा तालिम अत्यन्त आवश्यक रहेको बताए । व्यवसाय सञ्चालनका क्रममा देखिने विभिन्न समस्या र कानुनी तथा करसम्बन्धी विषयमा व्यवसायीलाई सचेत बनाउन यस्ता प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने भएकाले महासंघमार्फत कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

उनले प्रशिक्षण तथा तालिम सञ्चालनका लागि गठन गरिएको समितिभित्रैबाट केही साथीहरूले असहयोग गरेको गुनासो समेत गरे । महासंघले व्यवसायीको क्षमता अभिवृद्धि र व्यवसायलाई व्यवस्थित बनाउन आयोजना गर्ने कार्यक्रमहरूमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।
प्रशिक्षणका क्रममा व्यवसाय सञ्चालनका लागि आवश्यक खरिद तथा बिक्री खाता, डे–बुकमा कारोबार अभिलेखीकरण, स्टक व्यवस्थापन, ज्याला तथा जर्तीको अभिलेख, अन्य खर्चको लेखाङ्कन, सेवाप्रवद्र्धन शुल्क, स्रोतमा कर कट्टी (टीडीएस), कर प्रशासन तथा लेखा प्रणालीसँग सम्बन्धित विभिन्न प्रक्रियाबारे जानकारी दिइएको थियो ।
प्रशिक्षणमा सहभागी व्यवसायी तथा कर्मचारीलाई लेखा राख्ने व्यावहारिक तरिका, कारोबार अभिलेखीकरण तथा करसम्बन्धी दायित्वका विषयमा समेत जानकारी दिइएको महासंघले जनाएको छ ।
कार्यक्रममा रत्न तथा आभूषण क्षेत्रका व्यवसायी तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले प्रशिक्षण कार्यक्रम अत्यन्त उपयोगी, व्यावहारिक तथा उपलब्धिमूलक रहेको भन्दै कार्यक्रम आयोजना गरेकोमा महासंघप्रति धन्यवाद तथा प्रशंसा व्यक्त गरेका थिए ।
व्यवसाय सञ्चालनका क्रममा लेखा तथा करसम्बन्धी विषयमा देखिने व्यावहारिक समस्या समाधान गर्न यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता सहभागीहरूले औंल्याएका छन् ।
प्रतिक्रिया