काठमाडौं- एक्स्ट्रिम इनर्जी ड्रिङक्स कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुने इंग्लिस प्रिमियर लिग (ईपीएल) २०२६–२७ को टाइटल स्पोन्सर बनेको छ ।
आज आयोजित एक कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका मार्केटिङ नायब महाप्रबन्धक सागर केसी र एक्स्ट्रिम इनर्जी ड्रिङक्सका बिजनेस हेड सोनिया रानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ईपीएल लगातार दोस्रो सिजन कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुन लागेको हो ।
कान्तिपुर म्याक्सको खेलकुद गतिविधिको प्रत्यक्ष प्रसारणमा रहेको योगदान र ईपीएलको लोकप्रियतालाई ध्यानमा राख्दै सम्झौता गरिएको एक्स्ट्रिम इनर्जी ड्रिङक्सका बिजनेस हेड सोनिया रानाले बताइन् । युवा पुस्तामाझ ईपीएलको बढ्दो लोकप्रियताले पनि सहकार्यलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ ।
युरोपको सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगितामध्ये एक ईपीएल विश्वकै सबैभन्दा बढी हेरिने फुटबल लिगका रूपमा परिचित छ । प्रत्येक खेलमा औसत ४० हजारभन्दा बढी दर्शक रंगशालामा उपस्थित हुने गर्छन् भने यसको विश्वव्यापी दर्शक संख्या औसत ४.७ बिलियनसम्म पुग्ने बताइन्छ ।
नेपालमा पनि ईपीएल विशेषगरी युवा पुस्तामाझ निकै लोकप्रिय छ । विभिन्न इंग्लिस क्लबका आधिकारिक फ्यान क्लबहरू नेपालमा सक्रिय रहेका छन् ।
गत सिजन आर्सनलले उपाधि जितेको थियो । ईपीएल २०२६–२७ शुक्रबार रातिबाट सुरु हुँदैछ । नयाँ सिजनको पहिलो खेलमा साविक विजेता आर्सनलले यसै सिजन बढुवा भएको कोभेन्ट्री सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया