अर्थतन्त्र

वैदेशिक व्यापारमा सुधारको संकेत, एक महिनामै निर्यातमा ६२ प्रतिशतको उछाल

आइतबार, ०७ भदौ २०८३, १५ : ४७

काठमाडौं- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साउनमा कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ।

साउनमा आयात ३१.०४ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको साउनमा १ खर्ब ४३ अर्ब ४ करोड ६६ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका थिए।

निर्याततर्फ भने आयातभन्दा उच्च वृद्धि देखिएको छ। गत वर्षको साउनमा करिब २४ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको पहिलो महिनामा निर्यात ६१.७२ प्रतिशतले बढेर ३८ अर्ब ७० करोड ४१ लाख रुपैयाँ पुगेको छ।

निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको आकार ठूलो भएकाले व्यापार घाटा भने बढेको छ। साउनमा व्यापार घाटा २४.८८ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ पुगेको छ।

यसबीच नेपालको वैदेशिक व्यापारको संरचनामा भने केही सुधार देखिएको छ। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा गत वर्षको साउनमा १४।३३ प्रतिशत रहेकोमा यस वर्ष बढेर १७.११ प्रतिशत पुगेको छ। आयातको हिस्सा भने ८५.६७ प्रतिशतबाट घटेर ८२.८९ प्रतिशतमा झरेको छ।

त्यस्तै, आयात र निर्यातबीचको अनुपातसमेत गत वर्षको ५.९८ बाट घटेर ४.८४ मा आएको छ। आयातको तुलनामा निर्यातको वृद्धिदर उच्च रहेकाले नेपालको वैदेशिक व्यापार संरचनामा क्रमिक सुधारको संकेत देखिएको छ।

यद्यपि, व्यापार घाटाको आकार अझै ठूलो रहेकाले आयातमा निर्भरता घटाउँदै निर्यात विस्तार गर्ने चुनौती कायमै छ। निर्यातको वृद्धिलाई दिगो बनाउँदै उत्पादन क्षमता बढाउन सके व्यापार घाटा कम गर्न सहयोग पुग्ने देखिन्छ।

आइतबार, ०७ भदौ २०८३, १५ : ४७

प्रतिक्रिया