काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अघि सारेको १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य पूरा गर्न अटोमोबाइल बजारको विस्तार आवश्यक रहेको बताएका छन्।
मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई विस्तार गर्न सके रोजगारी सिर्जनाका साथै समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताए।
उनले अहिले उद्योगी–व्यवसायीको मनोबल कमजोर रहेको भन्दै निजी क्षेत्रलाई विश्वासमा लिएर सरकारले काम गर्नुपर्ने आवश्यकता औँल्याए। निजी क्षेत्रको मनोबल कमजोर हुँदा त्यसको प्रत्यक्ष असर उद्योग, लगानी र रोजगारीमा पर्ने उनको भनाइ थियो।
श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई सवारीसाधन आयात गर्ने क्षेत्रका रूपमा मात्र नहेरी यससँग जोडिएको उद्योग र रोजगारीको सम्भावनालाई समेत ध्यान दिन सरकारसँग आग्रह गरे। उनका अनुसार अटो क्षेत्रको विस्तारले प्रत्यक्ष रोजगारीसँगै सवारीसाधन बिक्री, मर्मतसम्भार, स्पेयर पार्ट्स, टायर, ब्याट्री, बीमा तथा वित्तीय सेवासहितका क्षेत्रमा आर्थिक गतिविधि बढाउन सक्छ।
नेपालमा हरेक वर्ष करिब २० अर्ब रुपैयाँ बराबरका अटो पार्ट्स आयात हुने उल्लेख गर्दै श्रेष्ठले यस्ता सामग्री स्वदेशमै उत्पादन गर्ने उद्योग स्थापना गर्न सरकारले प्रोत्साहन गर्नुपर्ने बताए। आयातमा मात्रै निर्भर हुनुको सट्टा नेपालमै अटो पार्ट्स उत्पादन गर्न सके उद्योग र रोजगारी दुवै विस्तार गर्न सकिने उनको धारणा थियो।
उनले उद्योग स्थापना र सञ्चालनका लागि आवश्यक नीतिगत सहजीकरण गर्न पनि सरकारको ध्यानाकर्षण गराए। निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण निर्माण गर्न सके मात्रै सरकारले राखेको रोजगारी र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिने उनले बताए।
यस वर्षको नाडा अटो शोमा २०० भन्दा बढी स्टल राखिएका छन्। प्रदर्शनीमा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ सवारी ब्रान्डको सहभागिता रहेको छ। करिब तीन लाख वर्गफिट क्षेत्रमा सञ्चालन भइरहेको प्रदर्शनीमा सवारीसाधनसँगै अटो पार्ट्स, टायर, ब्याट्री, ग्यारेज उपकरण, चार्जिङ प्रणाली, वित्तीय तथा बीमा सेवासमेत प्रदर्शनमा राखिएका छन्।
नाडा अटो शो भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ। यस वर्षको प्रदर्शनी नाडाको स्वर्ण जयन्ती वर्षसँगै आयोजना भएकाले अटोमोबाइल क्षेत्रको विगत, वर्तमान र आगामी सम्भावनालाई समेत जोडेर प्रस्तुत गरिएको छ।
प्रतिक्रिया