काठमाडौं– रसुवामा बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि सरकारी संयन्त्रहरू उद्धार तथा राहतका लागि सक्रिय भएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई एकसाथ परिचालन गरी उद्धार कार्य अघि बढाइएको छ।
विपद् व्यवस्थापनसँग सम्बन्धित सरकारी निकायसमेत सक्रिय भएका छन्। सम्भावित उद्धार तथा राहत कार्यलाई सहज बनाउन सबै हेलिकप्टरलाई स्ट्यान्डबाइ अवस्थामा राख्न निर्देशन दिइएको छ।
बाढी तथा पहिरोका कारण थप जोखिम हुन सक्ने भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई निर्देशन दिइएको छ।
सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउँदै क्षतिको विवरण संकलन गर्ने कामसमेत अघि बढाएको जनाएको छ।
प्रतिक्रिया