काठमाडौं- काठमाडौंस्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना नदिएको भन्ने आरोपको कडा रूपमा खण्डन गरेको छ। दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण जारी गर्दै त्यस्ता आरोपलाई ‘भ्रामक समाचार’को संज्ञा दिएको हो।
चीनतर्फको कुनै बाँध फुटेर नेपालमा क्षति पुगेको र त्यसबारे नेपाललाई पूर्वसूचना नदिएको भन्ने दाबी निराधार रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार अगस्ट २६ को बिहान नेपालतर्फ भूकम्प वा हिमपहिरोजस्तै प्रकृतिको ठूलो भौगोलिक विपद् आएको थियो।
उक्त घटनाका कारण केरुङ–रसुवागढी सीमा क्षेत्रमा भीषण लेदोसहितको पहिरो गएको दूतावासले जनाएको छ। प्राकृतिक विपद्बाट नेपालतर्फ मात्र नभई चीनतर्फ पनि ठूलो क्षति पुगेको र धेरै मानिस बेपत्ता भएको दूतावासको भनाइ छ।
दूतावासले विपद्को कठिन घडीमा मिथ्या आरोप–प्रत्यारोप गर्नुभन्दा आपसी सहयोग र सहकार्यमा जोड दिन आग्रह गरेको छ।
दूतावासद्वारा जारी सन्देशमा भनिएको छ, ‘आरोपले केही मद्दत गर्दैन, बरु सहकार्यले मात्र मानिसको ज्यान बचाउन सकिन्छ।’
संकटको समयमा नेपाल र चीन दुवै देशले मिलेर उद्धार तथा राहत कार्यमा ध्यान दिनुपर्नेमा दूतावासले जोड दिएको छ।
प्रतिक्रिया