काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले दुःख व्यक्त गर्दै उद्धार, राहत, उपचार तथा पुनर्स्थापनाका लागि पार्टी पंक्ति परिचालन गर्ने निर्णय गरेको छ।
काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बिहीबार बसेको आकस्मिक बैठकले बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टीले जनाएको छ। भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ र प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ।
प्रलोपा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उचित उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। बेपत्ता नागरिकको खोजी तथा बाढीमा फसेकाहरूको उद्धारलाई प्रभावकारी बनाउन पनि पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।
पार्टीले नेता विजय केसीको नेतृत्वमा १०१ सदस्यीय स्वयंसेवक टोली गठन गर्ने निर्णय गरेको छ। उक्त टोलीलाई उद्धार, राहत, खोजी, पुनर्स्थापना तथा आवश्यक मानवीय सेवामा परिचालन गरिने जनाइएको छ।
त्यस्तै, पार्टीका कार्यालय सचिव यज्ञ पोख्रेलको नेतृत्वमा आन्तरिक आर्थिक सहयोग संकलन अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। संकलित रकम पारदर्शी रूपमा बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने प्रलोपाले जनाएको छ।
बाढीमा परी मृत्यु भएका, बेपत्ता तथा घाइते नागरिकको यथार्थ विवरण संकलन गर्न पार्टी प्रवक्ता लक्ष्मी गुरुडको नेतृत्वमा टोली गठन गरिएको छ। उक्त टोलीले सम्बन्धित परिवार तथा सरकारी निकायसँग समन्वय गरी आवश्यक सहयोगका लागि पहल गर्नेछ।
त्यसैगरी, केन्द्रीय सदस्य डम्बर रावलको नेतृत्वमा स्वास्थ्य उपचार, औषधि तथा स्वास्थ्यसम्बन्धी सहयोग र सहजीकरण समिति गठन गर्ने निर्णय भएको छ। समितिले प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा तथा उपचार सहयोग पुर्याउने पार्टीले जनाएको छ।
बाढीका कारण घाइतेको उपचारमा रगतको अभाव हुन सक्ने भन्दै प्रलोपा आफ्ना सदस्यहरूलाई रक्तदानमा सहभागी हुनसमेत अपिल गरेको छ।
प्रलोपा संघीय, प्रदेश तथा स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र तथा आम नागरिकलाई दल, विचार र स्वार्थभन्दा माथि उठेर विपत्तिमा परेका नागरिकको जीवनरक्षाका लागि एकजुट हुन आग्रह गरेको छ।
पार्टीले तत्काल उद्धार र राहतसँगै बाढीबाट क्षतिग्रस्त घर, सडक, पुल, विद्युत्, खानेपानीलगायत सार्वजनिक पूर्वाधारको पुनर्निर्माणका लागि दीर्घकालीन राष्ट्रिय योजना बनाउन सरकारसँग माग गरेको छ। पार्टीले विपत्तिमा कुनै पनि नागरिक एक्लो नहुने भन्दै मानव जीवनको रक्षा नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएको छ।
प्रतिक्रिया