इप्पानद्वारा बाढीपीडितका लागि ५ करोड ५ लाख सहयोग

शुक्रबार, १२ भदौ २०८३, १० : ४२

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिक तथा विद्युत् आयोजनाका लागि ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

इप्पानको २०८३ साल भदौ ११ गते बसेको २०६औँ आकस्मिक कार्यसमिति बैठक तथा सल्लाहकारसहितको संयुक्त बैठकले भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँलगायत जिल्लामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

बाढीबाट सञ्चालनमा रहेका तथा निर्माणाधीन विभिन्न विद्युत् आयोजनामा पुगेको क्षतिप्रति पनि इप्पानले दुःख व्यक्त गरेको छ। बाढीमा परी ज्यान गुमाएका आयोजनाका कर्मचारी तथा मजदुरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

इप्पानले क्षतिग्रस्त विद्युत् आयोजनाहरूको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि नेपाल सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ। सोही क्रममा इप्पान तथा इप्पानसम्बद्ध जलविद्युत् कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीका अनुसार उक्त सहयोग रकमको चेक उपयुक्त समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरिनेछ।

अध्यक्ष डाँगीले ऊर्जा क्षेत्र नेपालको समृद्धिसँग मात्रै नभई नेपाली जनताको सुख–दुःखसँग समेत जोडिएको क्षेत्र भएकाले विपद्को समयमा इप्पानका सदस्य कम्पनीहरू एकजुट भएर सहयोग गर्नुपर्ने बताएका छन्। उनले मानवीय अभियानमा इप्पानका सम्पूर्ण सदस्य कम्पनीहरूलाई सक्रिय र उदारतापूर्वक सहयोग गर्न अनुरोधसमेत गरेका छन्।

शुक्रबार, १२ भदौ २०८३, १० : ४२

प्रतिक्रिया