काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का प्रचार विभाग प्रमुख रजमान तामाङले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा शव व्यवस्थापन प्रभावकारी बनाउन संघीय सरकारले प्रदेश, स्थानीय तह, राजनीतिक दल र नागरिक संघ–संस्थासँग तत्काल समन्वय गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै तामाङले बगरमा शवहरू छरपस्ट रहेको खबर आइरहेको उल्लेख गरेका छन्। विपदबाट गम्भीर रूपमा प्रभावित रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले फेसबुकमा व्यक्त गरेको धारणाले संघीय सरकारको गैरजिम्मेवार व्यवहार स्पष्ट भएको उनको आरोप छ।
तामाङले रसुवाका प्रदेशसभा सदस्य इन्द्र गौतम र विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीसँग सम्पर्क गर्दा पनि प्रभावित क्षेत्रमा आवश्यक समन्वयको अभाव रहेको जानकारी पाएको बताएका छन्। आफूले समेत स्थलगत भ्रमणका क्रममा त्यस्तै अवस्था अनुभव गरेको उनको भनाइ छ।
“गृह मन्त्रालयको सचिवालयका नाममा उत्तरगया गाउँपालिका अध्यक्षजस्तो अनुभवी राजनीतिकर्मीलाई घुमाउरो शैलीमा धम्की दिइएको कुरा पढ्नुपर्दा दुःख लागेको छ,” तामाङले भनेका छन्, “यस्तो हर्कत नगर्न र जिम्मेवार भएर प्रस्तुत हुन सरकारका सबै निकायलाई अनुरोध गर्दछु।”
तामाङले आफू आज पनि काठमाडौंबाट प्रभावित क्षेत्रतर्फ जान लागेको जानकारी दिएका छन्। उनले बालेन नेतृत्वको संघीय सरकारलाई सबै तहका सरकार, राजनीतिक दल, स्थानीय नागरिक तथा संघ–संस्थासँग समन्वय गरी राहत, उद्धार, बेपत्ताको खोजी र शव व्यवस्थापनको काम तीव्र बनाउन जोडदार माग गरेका छन्।
प्रतिक्रिया