बाढी प्रभावित जलविद्युत् आयोजनाको अवस्था बुझ्न नुवाकोट पुगे मन्त्री श्रेष्ठ

सोमबार, १५ भदौ २०८३, १४ : ४४

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ बाढी प्रभावित जलविद्युत् आयोजनाको निरीक्षण तथा उद्धार कार्यको पछिल्लो अवस्था बुझ्न नुवाकोटको त्रिशुली पुगेका छन् ।

मन्त्री श्रेष्ठले त्रिशुलीस्थित सैन्य तालिम केन्द्रमा पुगेर उद्धार कार्यको समन्वय गरिरहेका गृहमन्त्री सुधन गुरुङसँग छलफल गरेका छन् । छलफलका क्रममा बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको अवस्था, उद्धारमा भइरहेको प्रगति तथा थप गर्नुपर्ने कामका विषयमा जानकारी लिइएको छ ।

सो अवसरमा जलविद्युत् आयोजनाका सुरुङमा खटिएका नेपाली सेनाका उच्च अधिकारीहरूले मन्त्री श्रेष्ठलाई उद्धार कार्यको पछिल्लो प्रगतिबारे विस्तृत ब्रिफिङ गरेका थिए । सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि भइरहेको प्रयास तथा घटनास्थलको अवस्थाबारे समेत मन्त्री श्रेष्ठलाई जानकारी गराइएको थियो ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहसहित नुवाकोट पुगेका मन्त्री श्रेष्ठले ब्रिफिङ लिएपछि हेलिकप्टरमार्फत रसुवा जाने कार्यक्रम रहेको छ । उनले रसुवास्थित बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धारस्थलको स्थलगत निरीक्षण गर्नेछन् ।

मन्त्री श्रेष्ठले प्रभावित आयोजनाको क्षति, उद्धार तथा पुनःस्थापनाका लागि भइरहेका प्रयासबारे सम्बन्धित अधिकारीसँग जानकारी लिने बताइएको छ । साथै उनले बाढीबाट प्रभावित परिवारसँग समेत भेट गरी उनीहरूको अवस्था र आवश्यकताबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।

भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लाका जलविद्युत् आयोजना तथा पूर्वाधारमा ठूलो क्षति पुगेको छ । प्रभावित आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएपछि सुरक्षा निकायको टोलीले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ ।

सोमबार, १५ भदौ २०८३, १४ : ४४

प्रतिक्रिया