डेढ वर्षभित्र ऋण तिर्ने डिडिसीको लक्ष्य, दैनिक डेढ लाख लिटर दूध सङ्कलन गरिने

विहीबार, १८ भदौ २०८३, १३ : ३७

काठमाडौं - लामो समयदेखि किसानको बक्यौता, दुग्धजन्य पदार्थको ठूलो मौज्दात र वित्तीय सङ्कटसँग जुधिरहेको दुग्ध विकास संस्थान (डिडिसी)ले दैनिक दूध सङ्कलन एक लाख ५० हजार लिटर पुर्‍याउने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। डिडिसीले हालको दैनिक ६५ हजार लिटर दूध सङ्कलनलाई एक लाख ५० हजार लिटर पुर्‍याउने लक्ष्य राखेको छ।
किसानलाई तिर्नुपर्ने बक्यौता चार महिनाअघिको ७२ करोड रुपैयाँबाट २० करोड रुपैयाँमा झरेको छ भने पछिल्लो तीन महिना १५ दिनमा करिब ७० करोड रुपैयाँ भुक्तानी गरिएको छ।
करिब १ अर्ब २६ करोड रुपैयाँ ऋण रहेको डिडिसीले डेढ वर्षभित्र ऋण तिर्ने लक्ष्य राख्दै बजार विस्तार र दुग्धजन्य वस्तुको निर्यातसमेत अघि बढाएको छ।

हाल किसानबाट दैनिक करिब ६५ हजार लिटर दूध खरिद गरिरहेको संस्थानले सङ्कलनमा थप ८५ हजार लिटर वृद्धि गर्ने योजना बनाएको हो। यसका लागि किसानलाई नियमित भुक्तानी सुनिश्चित गर्ने, नयाँ सङ्कलन केन्द्र खोल्ने र दुग्धजन्य पदार्थको बिक्री सञ्जाल विस्तार गर्ने तयारी गरिएको छ।

डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार दूध उत्पादनको सम्भावना भएका स्थान पहिचान गरी आवश्यक पूर्वाधारसहित सङ्कलन केन्द्र विस्तार गरिनेछ। किसानको पुरानो बक्यौता फरफारक गर्दै नियमित भुक्तानीको व्यवस्था गरेर विश्वास बढाउने संस्थानको योजना छ।

डिडिसीको वित्तीय अवस्थामा पछिल्लो चार महिनामा सुधार आएको पाण्डेको दाबी छ। उनले गत वैशाख १८ गते जिम्मेवारी सम्हाल्दा किसानलाई करिब ७२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकामा अहिले उक्त रकम करिब २० करोड रुपैयाँमा झरेको बताएका छन्। पछिल्लो तीन महिना १५ दिनमा मात्रै किसानलाई करिब ७० करोड रुपैयाँ भुक्तानी गरिएको उनको भनाइ छ।

यसअघि किसानको आठ महिनासम्मको भुक्तानी बाँकी रहने अवस्था रहेकामा अहिले दुई महिनाको मात्रै बाँकी रहेको उनले बताए। अब सुरुमा मासिक र त्यसपछि प्रत्येक १५ दिनमा किसानलाई दूधको रकम भुक्तानी गर्ने प्रणाली विकास गर्ने संस्थानको योजना छ।

डिडिसीले ठूलो परिमाणमा थुप्रिएको दुग्धजन्य पदार्थको मौज्दातसमेत उल्लेख्य रूपमा घटाएको जनाएको छ। चार महिनाअघि करिब ६०० टन धुलो दूध मौज्दात रहेकामा अहिले करिब १२० टनमा झरेको छ। त्यस्तै करिब ५०० टन रहेको बटरको मौज्दात घटेर १२५ टनमा सीमित भएको छ। जिम्मेवारी सम्हाल्दा करिब १० टन पनिरसमेत मौज्दात रहेको पाण्डेले बताएका छन्।

बजार विस्तारसँगै कारोबार पनि बढेको संस्थानको दाबी छ। काठमाडौंमा डिडिसीका मात्रै उत्पादन बिक्री गर्ने १५ वटा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ। यसअघि दैनिक ५० देखि ६० लाख रुपैयाँ हाराहारी कारोबार हुने गरेकामा अहिले करिब एक करोड रुपैयाँ पुगेको छ।

काठमाडौंमा दैनिक दूध बिक्री पनि करिब ६० हजार लिटरबाट बढेर ७२ हजार लिटर पुगेको छ। दूध सङ्कलनसमेत दैनिक करिब ५० हजार लिटरबाट बढेर ६५ हजार लिटर पुगेको संस्थानले जनाएको छ।

आन्तरिक बजारसँगै डिडिसीले निर्यातमा पनि ध्यान केन्द्रित गरेको छ। हालै ५०० किलो घ्यू दुबई निर्यात गरिएको र वार्षिक ५० हजार किलो घ्यू निर्यात गर्ने सम्झौता भएको पाण्डेले जानकारी दिएका छन्। दक्षिण कोरिया, मलेसिया र जापानमा समेत डिडिसीका उत्पादन निर्यात गर्ने विषयमा छलफल भइरहेको छ। विदेशबाट चिज र पेडाको मागसमेत आउन थालेको उनको भनाइ छ।

हाल करिब २० प्रकारका दुग्धजन्य वस्तु उत्पादन गर्दै आएको डिडिसीले बजारको मागअनुसार ‘स्लाइस चिज’ लगायत नयाँ उत्पादन थप्ने तयारी गरेको छ। मोफसलमा उत्पादन र बजार विस्तार गर्ने रणनीतिअन्तर्गत पोखरामा उत्पादन सुरु गर्न सम्झौताको प्रक्रिया अघि बढाइएको छ।

वित्तीय सुधार भने डिडिसीका लागि अझै ठूलो चुनौतीका रूपमा रहेको छ। संस्थानमाथि हाल करिब एक अर्ब २६ करोड रुपैयाँ ऋण रहेको छ। पाण्डेका अनुसार पछिल्लो अवधिमा करिब तीन करोड रुपैयाँ ऋण तिरिएको छ भने आगामी एक वर्ष छ महिनाभित्र बाँकी ऋण तिर्ने लक्ष्य राखिएको छ।


 

विहीबार, १८ भदौ २०८३, १३ : ३७

प्रतिक्रिया