काठमाण्डौ - केही बैंकहरुले ऋण असुलीका नाममा ऋणीमाथि दवाव सिर्जना गरेको समाचार आइरहेकोबेला गृह मन्त्रालयले जबर्जस्ती नगर्न निर्देशन दिएको छ । एक परिपत्र जारी गर्दै यातना दिने, घरबाट सामान उठाएर लैजाने तथा किस्ता नतिरेसम्म घरमै बसेर दबाब दिने कार्य नगर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।
गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालसँग भएको सहमतिपत्र कार्यान्वयनका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।
सरकार र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच गत भदौ ६ गते सहमति भएको थियो ।
मन्त्रालयले पठाएको पत्रमा ऋण असुलीका क्रममा यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने, गालीबेइज्जती तथा दुर्व्यवहार गर्ने जस्ता गैरकानुनी गतिविधि भएमा पीडितले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सक्ने उल्लेख छ।
प्रतिक्रिया