घरजग्गा कारोबार

घरजग्गा बजारमा देखियो सुधार, साउनमा कारोबार र कित्ताकाट दुवै बढ्यो

३ अर्ब ८४ करोड राजस्व संकलन

मंगलबार, २३ भदौ २०८३, १२ : १६

काठमाडौं– चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो महिना साउनमा घरजग्गा कारोबारसँगै यस क्षेत्रबाट सरकारलाई प्राप्त हुने राजस्व र जग्गाको कित्ताकाटसमेत उल्लेख्य रूपमा बढेको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्ष २०८२÷८३ को साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढेको हो। कारोबारबाट संकलन हुने राजस्व भने १६.९२ प्रतिशतले वृद्धि भएर ३ अर्ब ८४ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको साउनमा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। एक वर्षको अवधिमा राजस्व ५५ करोड ६७ लाख रुपैयाँले बढेको विभागको तथ्यांकले देखाएको छ।

विभागका अनुसार गत वर्षको साउनमा देशभर १ लाख ४ हजार २१८ पटक घरजग्गा कारोबार भएको थियो। चालु आर्थिक वर्षको साउनमा भने कारोबार संख्या बढेर १ लाख १४ हजार ८ पुगेको छ।

यस्तै, लिखत पारितको संख्यामा पनि वृद्धि भएको छ। गत वर्षको साउनमा ३१ हजार ६२१ लिखत पारित भएकोमा चालु आवको साउनमा यो संख्या बढेर ३३ हजार ९७८ पुगेको विभागले जनाएको छ।

घरजग्गा कारोबारसँगै यस अवधिमा कित्ताकाटको क्रम पनि तीव्र भएको छ। गत वर्षको साउनमा २० हजार ९०१ कित्ता जग्गालाई टुक्र्याएर ४२ हजार ५६३ कित्ता बनाइएको थियो। चालु आवको साउनमा भने ३० हजार ६८ कित्ता जग्गा टुक्र्याएर ६१ हजार १०२ कित्ता बनाइएको विभागको तथ्यांक छ।

यसरी हेर्दा गत वर्षको तुलनामा चालु आवको साउनमा कित्ताकाट गरिएका मूल कित्ताको संख्या करिब ४४ प्रतिशतले बढेको छ भने टुक्र्याएर बनाइएका कित्ताको संख्या पनि करिब ४४ प्रतिशतले बढेको देखिन्छ।

घरजग्गा कारोबारको वृद्धिको तुलनामा राजस्व संकलनको दर उच्च हुनुमा सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको पूँजीगत लाभकरको बढेको दरको समेत प्रभाव रहेको जानकारहरू बताउँछन्।

यसअघि पाँच वर्षभन्दा कम अवधिसम्म जग्गा होल्ड गरी बिक्री गर्दा प्राप्त लाभमा ७।५ प्रतिशत र पाँच वर्ष वा सोभन्दा बढी अवधिसम्म होल्ड गरी बिक्री गर्दा ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था थियो।

तर, चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले पाँच वर्ष वा सोभन्दा बढी अवधिसम्म होल्ड गरिएको घरजग्गा बिक्री गर्दा लाग्ने पूँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्‍याएको छ। त्यस्तै, पाँच वर्षभन्दा कम अवधिमा बिक्री गर्दा लाग्ने कर ७।५ प्रतिशतबाट बढाएर १० प्रतिशत कायम गरिएको छ।

करको दर बढेका कारण घरजग्गा कारोबारको संख्यामा भएको वृद्धिभन्दा राजस्व संकलनमा उच्च वृद्धि देखिएको जानकारहरूको भनाइ छ। कारोबारमा सामान्य सुधारसँगै करको दर वृद्धिको प्रभावसमेत जोडिँदा चालु आर्थिक वर्षको सुरुवाती महिनामै घरजग्गा क्षेत्रबाट सरकारको राजस्व आम्दानी बढेको देखिएको हो।

मंगलबार, २३ भदौ २०८३, १२ : १६

प्रतिक्रिया