पर्यटन

भोटेकोशी बाढीले थला पर्‍यो पर्यटन क्षेत्र, ५२ अर्बभन्दा बढीको क्षति

आइतबार, २८ भदौ २०८३, १० : ०६

काठमाडौं- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाको पर्यटन क्षेत्रमा मात्रै ५२ अर्ब १३ करोड ६५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको क्षति पुर्‍याएको प्रारम्भिक अध्ययनले देखाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित ‘भोटेकोशी हिमबाढी क्षति मूल्यांकन समिति’ले तयार पारेको प्रारम्भिक प्रतिवेदनअनुसार हिमचट्टानसहितको पहिरो हिमतालमा खसेपछि आएको बाढीले होटल तथा रेस्टुरेन्ट, पर्यटनसँग सम्बन्धित सवारीसाधन, पदमार्ग, सम्पदा, पर्यटकीय पूर्वाधार, राफ्टिङ तथा क्याम्पिङ साइटमा ठूलो क्षति पुर्‍याएको हो।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य सहदेव धमलाको संयोजकत्वमा गठित समितिले प्रभावित क्षेत्रमा स्थलगत अध्ययन गरी क्षतिको प्रारम्भिक विवरण संकलन गरेको हो।

प्रतिवेदनअनुसार भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा रहेका २०७ वटा होटल तथा रेस्टुरेन्टमा क्षति पुग्दा मात्रै १९ अर्ब ५६ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ। रेस्टुरेन्ट क्षेत्रमा थप १ अर्ब ३८ करोड तथा पर्यटनसँग सम्बन्धित सवारीसाधनमा १ अर्ब ५१ करोड रुपैयाँ बराबरको क्षति पुगेको समितिको अनुमान छ।

त्यस्तै, पदमार्गतर्फ ५ करोड, सम्पदा तथा पर्यटकीय संरचनामा १ अर्ब १२ करोड र राफ्टिङ तथा क्याम्पिङ साइटमा १५ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

बाढीले भौतिक पूर्वाधारमा मात्रै नभई पर्यटन व्यवसायको आम्दानीमा समेत ठूलो असर पारेको छ। प्रभावित होटल तथा रेस्टुरेन्टमा विदेशी पर्यटकबाट हुने आम्दानीतर्फ मात्रै १४ अर्ब ६० करोड रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ। लाङटाङ क्षेत्रमा हुने व्यावसायिक कारोबारमा १ अर्ब २७ करोड तथा आन्तरिक पर्यटन आयतर्फ १९ करोड ८७ लाख रुपैयाँ बराबरको असर परेको समितिले जनाएको छ।

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि तत्काल ठोस योजना अघि बढाउनुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन्। बाढी प्रभावित क्षेत्रमा पर्यटकीय पूर्वाधार पुनर्निर्माण गर्न समय लाग्ने भएकाले तत्कालका लागि सुरक्षित वैकल्पिक गन्तव्य र पर्यटकीय मार्ग पहिचान गरी गतिविधि बढाउनुपर्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० का अध्यक्ष सागर पाण्डेले बताए।

तिब्बततर्फको नाकामा समेत बाढीको असर परेकाले नेपालका ट्रेकिङ रुटमा त्यसको प्रत्यक्ष प्रभाव परेको भन्दै उनले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाल सुरक्षित रहेको स्पष्ट र सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताए।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० का अध्यक्ष भरतजंग पाण्डेले विपद्का बेला बाह्य सहयोगको मात्रै प्रतीक्षा नगरी पर्यटन क्षेत्रका सबै सरोकारवाला एकजुट भएर पुनरुत्थानमा जुट्नुपर्ने बताए।

भोटेकोशी तथा त्रिशूली करिडोर नेपालको महत्वपूर्ण पर्यटकीय क्षेत्र भएकाले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै अन्य सुरक्षित गन्तव्यको प्रवर्द्धनलाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ।

आइतबार, २८ भदौ २०८३, १० : ०६

प्रतिक्रिया