भृकुटीमण्डपमा ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण एक्स्पो’, ७७ लाख ५० हजारमै घरदेखि जग्गामा २५ प्रतिशत छुट

सोमबार, २९ भदौ २०८३, १४ : ४२

काठमाडौं- आफ्नै घरको सपना देखिरहेका मध्यमवर्गीय उपभोक्तालाई लक्षित गर्दै काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण एक्स्पो’ मा ७७ लाख ५० हजार रुपैयाँमै घर उपलब्ध गराउनेदेखि जग्गा खरिदमा २५ प्रतिशतसम्म छुटसम्मका अफर सार्वजनिक गरिने भएको छ ।

नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा असोज १ देखि ४ गतेसम्म हुने एक्स्पोमा घरजग्गा खरिदकर्ताका लागि विभिन्न मूल्य र सुविधाका विकल्प प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

एक्स्पोमा ५ हजार १ रुपैयाँमै टोकन बैना गर्न सकिने व्यवस्था गरिएको छ । जग्गा बुक गरेपछि चित्त नबुझेमा उक्त टोकन रकम फिर्ता हुने व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ । त्यस्तै, जग्गा खरिदमा २५ प्रतिशतसम्म छुटको अफरसमेत उपलब्ध हुनेछ ।

आयोजकका अनुसार काठमाडौं आसपासका क्षेत्रमा तीन बेडरुमसहितको दुईतले घर करिब १ करोड ४० लाख रुपैयाँसम्मको बजेटमा उपलब्ध गराउने अवधारणा पनि एक्स्पोमा प्रस्तुत गरिनेछ । ठूलो परिमाणमा घर निर्माण गरेर लागत घटाउने र तुलनात्मक रूपमा सुलभ मूल्यमा बिक्री गर्ने अवधारणाअन्तर्गत यस्ता आवासीय परियोजना अघि बढाइएको हो ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवरले मध्यम तथा श्रमजीवी वर्गलाई लक्षित गर्दै काठमाडौं नजिकका क्षेत्रमा सुलभ मूल्यमा घर उपलब्ध गराउने अवधारणा अघि सारिएको बताए । विशेषगरी नुवाकोट र रसुवाका नागरिकलाई पायक पर्ने क्षेत्रलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

एक्स्पो आयोजना तथा तयारी समितिका संयोजक रोशन भोयद्योका अनुसार ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार घर तथा जग्गा छनोट गर्न सक्नेछन् । घर निर्माण गर्न चाहनेले निर्माणको जिम्मेवारीसमेत सम्बन्धित कम्पनीलाई दिन सक्ने व्यवस्था गरिएको छ । साथै, घरजग्गा क्षेत्रमा साझेदारीमा लगानी गर्ने अवसरसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।

प्रदर्शनीका सल्लाहकार तथा नेपाल जग्गा तथा आवास विकास महासंघका वरिष्ठ कानुनी सल्लाहकार डा। गोकुलप्रसाद बुर्लाकोटीले घरजग्गाको उच्च मूल्यका कारण मध्यमवर्गीय उपभोक्ताले आफ्नै घरको सपना पूरा गर्न कठिनाइ भोगिरहेको बताए । त्यसलाई ध्यानमा राखेर ठूलो परिमाणमा घर निर्माण गरी तुलनात्मक रूपमा सुलभ मूल्यमा बिक्री गर्ने अवधारणा अघि सारिएको उनको भनाइ छ ।

उनका अनुसार एक्स्पोमा उपभोक्ताले बिक्रीकर्तासँग प्रत्यक्ष संवाद गरी परियोजनाको स्थान, मूल्य, निर्माण अवस्था, भुक्तानी प्रक्रिया तथा अन्य सर्तबारे जानकारी लिन सक्नेछन् ।

एक्स्पोमा घरजग्गा खरिद–बिक्री तथा निर्माणसम्बन्धी निःशुल्क परामर्शको व्यवस्था पनि गरिएको छ । बैंक तथा वित्तीय संस्थाको सहभागिताका कारण घर खरिदकर्ता तथा लगानीकर्ताले आवासीय कर्जा, लगानी र वित्तीय व्यवस्थापनसम्बन्धी जानकारीसमेत एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन् ।

यसपटकको एक्स्पोमा घर र जग्गाका अतिरिक्त निर्माण सामग्री तथा प्रविधिसम्बन्धी उत्पादनसमेत प्रदर्शन गरिनेछ । सिमेन्ट, स्टिल, पेन्ट, काठ, सिसा, सेनिटरी सामग्री, विद्युतीय उपकरण, फर्निचर, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा फोहोर व्यवस्थापन प्रविधिसम्मका सामग्री र सेवा प्रदर्शनीमा रहनेछन् ।

घर निर्माण गर्नुअघि प्राविधिक जानकारी लिन चाहनेका लागि इन्जिनियर, आर्किटेक्ट तथा निर्माण क्षेत्रका विज्ञबाट निःशुल्क परामर्शको व्यवस्था गरिएको छ । भूकम्पप्रतिरोधी घर निर्माण, घरको डिजाइन, निर्माण सामग्री छनोट, लागत व्यवस्थापन तथा सुरक्षित निर्माण प्रविधिबारे समेत जानकारी लिन सकिनेछ ।

एक्स्पोमा हरित तथा वातावरणमैत्री निर्माण प्रविधिलाई पनि प्राथमिकता दिइएको छ । सौर्य ऊर्जा, वर्षाको पानी संकलन, फोहोर व्यवस्थापन तथा ऊर्जा–दक्ष प्रविधिसम्बन्धी सामग्री र समाधानबारे उपभोक्तालाई जानकारी दिइने आयोजकले जनाएको छ ।

त्यस्तै, ओम अस्पताल र ग्रान्डी इन्टरनेसनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिनेछ । नयाँ व्यवसाय सुरु गर्न चाहने युवा उद्यमीका लागि तालिम तथा व्यावसायिक परामर्शको सुविधा पनि राखिएको छ ।

प्रदर्शनीलाई प्रविधिमैत्री बनाउन डिजिटल स्ट्यान्डी, विद्युतीय कियोस्क, डिजिटल डिस्प्ले तथा भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरिनेछ । कागजी सामग्रीको प्रयोग घटाउँदै एक्स्पोलाई ‘पेपरलेस एक्स्पो’ बनाउने लक्ष्य आयोजकले राखेको छ ।

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ आयोजना हुने एक्स्पोको उद्देश्य सुरक्षित, सुव्यवस्थित तथा वैज्ञानिक बस्ती विकासमार्फत दिगो शहरीकरणलाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ ।

एक्स्पो नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा चेम्बरको सहकार्यमा आयोजना हुँदैछ । यसको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ । मेलाको टाइटल स्पोन्सर सिजी प्रोपर्टिज, पावर्ड बाइ स्पोन्सर एशियन पेन्ट्स, इन्स्योरेन्स पार्टनर प्रभु इन्स्योरेन्स तथा सहयोगीमा स्मार्ट पानी, केबी र युएचएस होल्डिङ्स रहेका छन् ।

सोमबार, २९ भदौ २०८३, १४ : ४२

प्रतिक्रिया