सुदूर पश्चिम प्रदेश सरकारद्वारा पुँजीगततर्फका सबै आयोजना पुनः इन्ट्री गरिने

मंगलबार, ३० भदौ २०८३, १४ : ००

धनगढी - अघिल्लो प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटबाट पुँजीगततर्फका सबै आयोजना तथा कार्यक्रम हटाएर पुनः इन्ट्रीको तयारी गरेको छ । प्रदेशमा दुई महिनादेखि जारी बजेट शून्यता अन्त्य गर्न चालु आर्थिक वर्षको बजेट पुनर्लेखन गर्ने निर्णय गरेको सरकारका प्रवक्ताले बताएका छन् । 

प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावलले उक्त बजेटमा त्रुटि रहेकै कारण पारित हुन नसकेको, बजेटका पुँजीगत आयोजना तथा कार्यक्रमका त्रुटि रहेकाले तत्कालीन सत्ता गठबन्धनभित्र विवाद भई सत्तापक्षले नै संशोधन प्रस्ताव दर्ता गराएको र बेथितिपूर्ण रहेकोले यी आयोजना र कार्यक्रम हटाउने तयारी गरिएको बताए ।

‘बजेट निर्माणमा बेथिति भएकोले तत्कालीन सरकार ढलेर नयाँ सरकार बनेको हो,’ मन्त्री रावलले भने, ‘यसअघिकै आयोजना तथा कार्यक्रम बजेटमा कायम राख्ने कुरै छैन । पीएलआइएमबीएसमा पुँजीगततर्फका सम्पूर्ण कार्यक्रम हटाएर नयाँ इन्ट्री हुनेछ ।’ प्रवक्ता रावलका अनुसार ती आयोजना हटाएर सबै नयाँ आयोजना मात्रै राखिने छैन । केही आयोजना सोही बजेटबाट समावेश गरिने र केही नयाँ छुटाउनै नहुने आयोजना पनि समावेश हुनेछन् । चालुतर्फका कार्यक्रम र खर्च शीर्षक सबै नहटाइए पनि चालुतर्फको बजेट पनि आवश्यकताअनुसार परिमार्जन हुने मन्त्री रावलले बताए ।

पारित हुन नसकेको बजेटबाट पुँजीगततर्फका सबै आयोजना हटाएर नयाँ आयोजना समावेश गर्न प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले नयाँ योजना माग गरेको छ । भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ९सरल०ले एक सूचना जारी गर्दै गुगल फाराम भरी नयाँ योजना र सुझाव माग गरेका हुन् । उनले पहुँच मन्त्रालय र सरकारका कार्यालयमा पहुँच नभएका नागरिकले आफ्ना योजना सजिलै मन्त्रालयसम्म पुर्‍याउन सकून् भनी गुगल फर्मबाटै आयोजना संकलन गर्न थालिएको बताए । उनले त्यसरी आएका आयोजनामध्ये प्राथमिकता निर्धारण गरी केही यसै बजेटमा समावेश गरिने र केही आयोजना आगामी आर्थिक वर्षको पूर्वतयारीमा राखिने बताए ।

मंगलबार, ३० भदौ २०८३, १४ : ००

प्रतिक्रिया