घरजग्गा कारोबार

घरजग्गा व्यवसायमा उल्लेख्य सुधार, एक वर्षमै ७ खर्ब २० अर्बको कारोबार

मंगलबार, ३० भदौ २०८३, १४ : ०२

काठमाडौं- पछिल्लो समय घरजग्गा कारोबारमा उल्लेख्य सुधार आएको देखिएको छ ।  नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ अध्ययन प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा घरजग्गा कारोबारको रकम, संख्या, कारोबार क्षेत्रफल, सरकारी राजस्व तथा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा उल्लेख्य रुपमा बढेको देखिएको हो । 

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/३ मा देशभर कुल ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँमा सीमित थियो। यस आधारमा एक वर्षमै घरजग्गा कारोबारको रकम झन्डै दोब्बर भएको देखिन्छ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा मात्रै २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ थियो।

कारोबार रकमसँगै कारोबार संख्यामा समेत सुधार आएको छ। समीक्षा वर्षमा घरजग्गा कारोबार संख्या ४.७४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा भने यस्तो कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो।

चौथो त्रैमासलाई मात्रै हेर्दा कुल कारोबार संख्या १२.२५ प्रतिशतले बढेको छ। त्यस्तै, लिखत पारितअन्तर्गतको कारोबार संख्या १२,२८ प्रतिशत र राजीनामा कारोबार २२.८८ प्रतिशतले वृद्धि भएको छ।

घरजग्गा कारोबार भएको कुल क्षेत्रफलमा समेत सुधार देखिएको छ। समीक्षा अवधिमा कारोबार भएको क्षेत्रफल १५.४१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो।

घरजग्गा कारोबारमा आएको सुधारको प्रत्यक्ष प्रभाव सरकारी राजस्वमा समेत परेको छ। समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलन हुने राजस्व ४८।२६ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

चौथो त्रैमासमा मात्रै घरजग्गा कारोबारबाट २३ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ। यसमध्ये १२ अर्ब १० करोड रुपैयाँ रजिस्ट्रेसन दस्तुर, १० अर्ब रुपैयाँ पुँजीगत लाभकर र १ अर्ब ४० करोड रुपैयाँ अन्य शीर्षकबाट संकलन भएको हो।

पुँजीगत लाभकरमा भने अझ तीव्र वृद्धि देखिएको छ। समीक्षा अवधिमा घरजग्गाबाट उठ्ने पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर २९.१८ प्रतिशतले मात्रै बढेको थियो।

घरजग्गा कारोबार बढेसँगै यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह पनि विस्तार भएको छ। आवासीय घरजग्गा कर्जासहित घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जा समीक्षा अवधिमा ६.१३ प्रतिशतले बढेर ७ खर्ब ४१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो।

प्रदेशगत रूपमा हेर्दा बागमतीमा घरजग्गा कारोबारमा उल्लेख्य उछाल आएको छ। बागमती प्रदेशमा राजीनामा कारोबार संख्या ६९।३८ प्रतिशतले बढेको छ भने कारोबार क्षेत्रफल ५०.२४ प्रतिशत र कुल कारोबार मूल्य १७५.३३ प्रतिशतले वृद्धि भएको छ।

मधेस प्रदेशमा भने राजीनामा कारोबार संख्या ३.४४ प्रतिशत र कारोबार क्षेत्रफल ६.१९ प्रतिशतले घटेको छ। यद्यपि, कारोबारको कुल मूल्य भने ३१.९८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार सातवटै प्रदेशमा २.५ आनादेखि १० आनासम्म क्षेत्रफलका घडेरी तथा प्लटको कारोबार सबैभन्दा बढी भएको छ।

ठूला सहरमा घरजग्गा कारोबारको वृद्धि अझ तीव्र देखिएको छ। काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ। त्यसपछि ललितपुरमा १३६.९२ प्रतिशत, पोखरामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४ प्रतिशत, विराटनगरमा ४७.५९ प्रतिशत र वीरगञ्जमा २९.१९ प्रतिशतले कारोबार संख्या बढेको छ।

काठमाडौं महानगरपालिकामा कारोबार भएको क्षेत्रफल २०८.२२ प्रतिशतले बढेको छ भने कुल कारोबार मूल्यमा २१७.४० प्रतिशतको उच्च वृद्धि भएको छ। यसले लामो समयदेखि सुस्त रहेको घरजग्गा बजारमा पछिल्लो समय माग, कारोबार र वित्तीय गतिविधि क्रमशः चलायमान बन्दै गएको संकेत गरेको छ।

मंगलबार, ३० भदौ २०८३, १४ : ०२

प्रतिक्रिया