कवि पाठकको ‘अग्नि–आलाप’ लोकार्पित, कवितामा प्रेम र संवेदनाको प्रस्तुति

आइतबार, ०४ असोज २०८३, १३ : १७

काठमाडौं- कवि तथा सञ्चारकर्मी मधु पाठकको नवीनतम् कवितासङ्ग्रह ‘अग्नि–आलाप’ लोकार्पित भएको छ । नेपाल स्रष्टा समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ ‘रोदन’, डा. नवराज लम्साल, पवन आलोक, डा. ज्ञानु अधिकारी र कवि मधु पाठकलगायतले कृति लोकार्पण गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि प्राडा लक्ष्मणप्रसाद गौतमले विचार, भावना र अनुभूतिको संयोजनबाट सुन्दर कविता जन्मिने बताए । उनले राम्रा कविता वेदका मन्त्रजस्तै हुने उल्लेख गर्दै कविताले पाठकको मस्तिष्क र हृदय दुवैलाई सक्रिय बनाउनुपर्ने धारणा राखे ।

समकालीन कवितामा कवि पाठकको उपस्थिति संवेदना, प्रेम, करुणा, मातृत्व र अनुभूतिका विविध पक्षमा देखिएको गौतमले बताए । उनका अनुसार पाठकका अधिकांश कविता अनुभूति र संवेदनामा केन्द्रित छन् ।

कृतिमाथि चर्चा गर्दै कवि डा। नवराज लम्सालले कविता लेख्नु गम्भीर विषय भएको बताए । विचारको अभिव्यक्ति नै कविता भएको उल्लेख गर्दै उनले अनुभूतिलाई बिम्बमार्फत अभिव्यक्त गर्ने क्षमता कविमा हुनुपर्ने बताए । उनले मधु पाठकका कवितामा संरचना, विषय, संगठन र अनुभूतिको सुन्दर संयोजन रहेको बताए ।

अर्की चर्चाकार डा। ज्ञानु अधिकारीले पाठकका कविताले पाठकलाई सोच्न र संवेदित हुन प्रेरित गर्दै सहभाव तथा समभावतर्फ लैजाने बताइन् । उनले पाठकका कविताले समाजको आत्माको आवाज बोल्ने उल्लेख गर्दै प्राकृतिक बिम्बमार्फत अमूर्त भावलाई कवितामा प्रस्तुत गरिएको बताइन् ।

अधिकारीले कविताका शीर्षक नयाँ नभए पनि कविको दृष्टिकोण नयाँ र अनुभूतिपरक रहेको बताइन् । उनका अनुसार पाठकका कवितामा प्रेम र संवेदना प्रचुर मात्रामा पाइन्छ ।

कार्यक्रममा पवन आलोक र ऋषभदेव घिमिरेले शुभकामना मन्तव्य राखेका थिए भने कवि मधु पाठकले आफ्ना अनुभूति साझा गरेका थिए ।

कार्यक्रमको अध्यक्षता नेपाल स्रष्टा समाजका अध्यक्ष ओम श्रेष्ठ ‘रोदन’ले गरेका थिए । उनले कृति लोकार्पणसँगै नेपाली कविता र साहित्यका विषयमा भएको बहस महत्वपूर्ण रहेको बताए । इतिहासलाई वर्तमान बनाएर वर्तमानमाथि अन्याय गर्न नहुने धारणा राख्दै श्रेष्ठले इतिहासलाई इतिहासकै रूपमा सम्मान गर्नुपर्ने बताए । उनले मधु पाठकका कविता समकालीन नेपाली कवितामा उल्लेखनीय रहेको बताए ।

कार्यक्रममा कवि सुष्मा आचार्य ‘अंशु’, मणि लोहनी र ठाकुर बेलबासेले ‘अग्नि–आलाप’भित्रका कविता वाचन गरेका थिए । नेपाल स्रष्टा समाजका सचिव प्रदीप सापकोटाले सञ्चालन गरेको कार्यक्रममा समाजकी सदस्य शान्तिमाया गिरीले स्वागत मन्तव्य राखेकी थिइन् ।

‘अग्नि–आलाप’ नेपाल स्रष्टा समाजले प्रकाशन गरेको हो ।

आइतबार, ०४ असोज २०८३, १३ : १७

प्रतिक्रिया