जलाशयसँँग जोडिदै तुही उपत्यकाको भविष्य

सोमबार, ०५ असोज २०८३, १३ : १५

तुलसीपुर - तुही उपत्यकाको अवस्था अहिले केही फरक देखिन थालेको छ । गाउँका डाँडाकाँडा र खेतबारीको बीचमा बनेका जलाशयले उपत्यकाको सौन्दर्य त बढाएका छन् नै, स्थानीय बासिन्दाको मनमा नयाँ सम्भावनाको आशासमेत जगाएका छन् । कुनै समय वर्षा कहिले होला र खेतमा पानी लाग्ला भन्ने प्रतीक्षामा रहने किसानका लागि यिनै जलाशय अब पर्यटनको आकर्षणसँगै खेतीपातीको भविष्यसँग जोडिन थालेका छन् ।

तुलसीपुर–१३ का विभिन्न चार स्थानमा निर्माण गरिएका मानव निर्मित जलाशय अहिले आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेका छन् । जलाशयमा जम्मा भएको पानी, वरिपरिको प्राकृतिक वातावरण र ग्रामीण परिवेशले यहाँ आउनेहरुलाई आकर्षित गर्न थालेको छ । तुलसीपुरका विद्यालयहरुले समेत विद्यार्थीलाई अध्ययन तथा अवलोकनका लागि यी जलाशयसम्म लैजान थालेका छन् । विद्यार्थीका लागि जलाशय एउटा अध्ययनको थलो बनेको छ भने बाहिरबाट आउनेका लागि घुमफिर र मनोरञ्जनको गन्तव्य तर स्थानीयका लागि यसको महत्व यतिमै सीमित छैन । उनीहरु जलाशयको पानीले आफ्नो खेतबारीको भविष्य बदलिएको हेर्न चाहन्छन् ।

जलाशयलाई पर्यटकीय स्थलका रुपमा मात्र नभई आसपासका क्षेत्रमा कृषि उत्पादन बढाउने आधार बनाउने प्रयास थालिएको छ । त्यसका लागि जलाशयमा जम्मा भएको पानीलाई किसानको खेतबारीसम्म पु¥याउने योजना अघि बढाइएको वडाध्यक्ष मोहनलाल पौडेलले बताउनुभयो ।

‘हाल रनियापुरमा रहेको फूलबारी लेकसाइड जलाशयलाई सिंचाईसँग जोड्ने काम तीब्र गतिमा अघि बढिरहेको छ । विद्युत विस्तारको काम सम्पन्न भइसकेको छ भने नहर निर्माणको कामसमेत शुरु भएको छ’– उहाँले भन्नुभयो–‘जलाशयको पानी नहर हुँदै खेतसम्म पुग्न थालेपछि वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसानका लागि यसको प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेका छौं ।’

फूलबारी लेकसाइड मात्रै होइन, आमखोली जलाशय, पूर्वी रनियापुर जलाशय र एेंसेलुचिरा जलाशय रामपुरलाई पनि पर्यटनसँगै सिंचाईको स्रोतका रुपमा विकास गर्ने योजना अघि सारिएको छ । यी योजनाहरु कार्यान्वयनमा आए रनियापुरको पूर्वी र पश्चिम भाग, गिधनियाँ, गाईखुटीलगायतका गाउँका जमिनमा सिंचाई सुविधा पुग्ने वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । तुही उपत्यकाका अधिकांश किसान अझै आकाशे पानीमा निर्भर छन् । वर्षा समयमा भयो भने खेतबारीमा हरियाली हुन्छ, पानीले साथ दिएन भने किसानको मेहनत र लगानी दुबै जोखिममा पर्छ । सिंचाईको अभावमा यहाँको खेतीपाती पनि लामो समयदेखि परम्परागत प्रणालीमै सीमित हुँदै आएको छ । एउटै जमिनमा मौसमअनुसार एक बाली लगाउने र त्यसैको भरमा वर्ष बिताउने अवस्था धेरै ठाउँमा रहेको वडाध्यक्ष पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो– ‘नियमित सिंचाईको सुविधा पुग्न सक्यो भने यही जमिनमा वर्षमा दुई–तीन बाली लगाउने, तरकारी तथा अन्य नगदेबाली उत्पादन गर्ने र कृषिलाई व्यावसायिक बनाउने सम्भावना खुल्नेछ ।’

कृषि उत्पादन बढ्नुको अर्थ किसानको खेतमा हरियाली हुनु मात्रै होइन, त्यसले गाउँको आर्थिक गतिविधिसमेत बदल्न सक्छ । अहिले रोजगारी र अवसरको खोजीमा गाउँ छाडिरहेका युवाले आफ्नै जमिनमा व्यावसायिक कृषि गर्न सक्ने वातावरण बन्न सक्छ । कृषिमा आधारित साना व्यवसाय सञ्चालन हुन सक्छन् । जलाशय हेर्न आउने पर्यटकले स्थानीय तरकारी, फलफूल, दूध, महलगायतका उत्पादन उपभोग गर्ने वातावरण बन्न सके त्यसको लाभ किसानसम्म पु¥याउन सकिने भन्दै यी जलाशयलाई बहुउपयोगसँग जोड्नुपर्ने वडाध्यक्ष पौडेलले बताउनुभयो । ‘धेरै सम्भावना भएको हुँदा तुही उपत्यकाका जलाशयलाई केवल पानी थुन्ने संरचनाका रुपमा हेर्न मिल्दैन । यिनले पर्यटन र कृषिलाई एकै ठाउँमा जोड्ने सम्भावना बोकेका छन् । जलाशयको किनारमा घुम्न आउने पर्यटक र त्यही जलाशयको पानीले सिंचिएको खेतबाट उत्पादन भएको कृषि उत्पादन तुही उपत्यकाको पहिचान बन्न सक्छ’– उहाँले भन्नुभयो– ‘जलाशयको सुन्दरताले पर्यटक तान्ने र त्यसको पानीले किसानको जीवनमा समृद्धि ल्याउने अवस्था बनाउन सकियो भने एउटै संरचनाबाट दुईवटा फाइदा लिन सकिनेछ । त्यसका लागि जलाशय निर्माण, नहर विस्तार र सिंचाईको पहुँचसँगै त्यसको दिगो व्यवस्थापन, कृषि उत्पादनको बजार, पर्यटकीय पूर्वाधार र स्थानीयको सहभागिता पनि उत्तिकै आवश्यक छ ।’
एकराज भण्डारी (नयाँ युगबोध दैनिक)

सोमबार, ०५ असोज २०८३, १३ : १५

प्रतिक्रिया