फाइल फोटो
काठमाडौं- अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा १४ वटा राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाका अनुसार शुक्रबार बिहान १० बजेसम्म कोशी, बागमती र लुम्बिनी प्रदेशका सडकखण्डमा यातायात प्रभावित भएको हो।
सबैभन्दा बढी बागमती प्रदेशका १० वटा सडकखण्डमा यातायात अवरुद्ध भएको छ। रसुवामा बाढीका कारण पासाङल्हामु राजमार्गअन्तर्गत बारा घुम्ती–रसुवागढी, त्रिशूली–बेत्रावती हुँदै रसुवागढी जाने सडक तथा मैलुङ–स्याफ्रुबेँसी सडक अवरुद्ध भएका छन्।
धादिङको गजुरी–२ फुर्केखोलामा बाढी आएपछि कालुपाण्डे राजमार्ग बन्द भएको छ। पृथ्वी राजमार्गअन्तर्गत बेनीघाटरोराङ–७ कृष्णभीर र तिङराङखानीमा पहिरो खसेको छ। चितवनको इच्छाकामना–४ धारापानीमा सडक भासिएपछि आवागमन रोकिएको छ।
कान्तिलोकपथअन्तर्गत ललितपुरको गोदावरी–६ बिर्खेधारा तथा बागमती–३ का पाङदुरडोल र टाकुर्चेमा पहिरो गएको छ। मकवानपुरको भीमफेदी–८ खहरे खोल्सामा लेदो आएपछि सडक अवरुद्ध भएको छ।
काभ्रेको रोशी–७ चारसयबेँसी र रोशी–८ गिम्दीबेँसीमा पहिरो खसेपछि बीपी राजमार्गसमेत बन्द रहेको मन्त्रालयले जनाएको छ।
कोशी प्रदेशमा दुई सडकखण्ड प्रभावित भएका छन्। ओखलढुंगाको मानेभञ्ज्याङ–६ भँडारे खोलामा बाढी आएपछि सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ। सुनसरीको बराहक्षेत्र–१ गुप्तबराहमा पहिरो खसेपछि चतरा–बराहक्षेत्र सडक बन्द भएको छ।
त्यस्तै, लुम्बिनी प्रदेशमा दुई सडकखण्ड अवरुद्ध छन्। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ रावसे र वडा नम्बर ४ पातिखोलामा पहिरो खसेपछि कालीगण्डकी करिडोर बन्द भएको छ। रोल्पाको माडी–२ ब्याङखोलामा पहिरो गएपछि घोराही–थवाङ सहिदमार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया