काठमाडौं- उत्पादन र बजार विस्तारसँगै अमुदी फुड्स लिमिटेडले अब आफनो व्यवसायलाई पूँजी बजारसँग जोड्दै नयाँ चरणमा प्रवेश गर्ने तयारी गरिरहेको छ।
कम्पनीले सार्वजनिक शेयर निष्कासनमार्फत सर्वसाधारणलाई कम्पनीको यात्रामा सहभागी गराउने योजना अधि सारेको छ। कम्पनीको प्रस्तावित पूँजी संरचनाअनुसार कुल जारी पूँजी रु.४२ करोड रहनेछ, जसमा प्रवर्द्धक समूहको रु. ३२ करोड र सर्वसाधारणका लागि रु. १० करोड बराबरको शेयर रहने योजना छ।
IPO प्रक्रियाका लागि Global IME Capital लाई Issue Manager नियुक्त गरिएको र Care Ratings Nepal सँग Rating सम्बन्धी सम्झौता भएको कम्पनीले जनाएको छ। Underwriter नियुक्ति, Prospectus तयारी तथा कम्पनी रजिष्टरार कार्यालयसँग सम्बन्धित केही प्रक्रियाहरू अधि बढिरहेको विवरणमा उल्लेख छ।
कम्पनीले आफनो योजनाअनुसार मंसिर २०८३ मा नेपाल धितोपत्र बोर्डमा आवेदन दिने र जेठ २०८४ मा IPO स्वीकृतिको अपेक्षा राखेको छ। यी समयसीमा कम्पनीले प्रस्तुत गरेको योजना तथा अपेक्षा हुन्।
IPO तथा अन्य स्रोतबाट प्राप्त हुने पूँजीलाई कम्पनीले उत्पादन क्षमता विस्तारमा उपयोग गर्ने योजना बनाएको छ। कम्पनीको योजनाअनुसार थप स्रोत परिचालन गरी समर्पित नुडल्स उत्पादन प्लान्ट स्थापना, उत्पादन क्षमता वृद्धि तथा उत्पादन पोर्टफोलियो विस्तार गरिनेछ।
कम्पनीको दीर्घकालीन दृष्टिकोण भने उत्पादन र पूँजी विस्तारभन्दा पनि फराकिलो छ। अमुदी फुड्सले उच्च गुणस्तरीय र स्वच्छ खाद्य उत्पादनमार्फत ग्राहकको सन्तुष्टि र दीर्घकालीन विश्वास निर्माण गर्ने लक्ष्य लिएको छ। साथै, नेपालकै विश्वसनीय तथा नवीन खाद्य ब्रान्ड बन्ने कम्पनीको Vision रहेको छ।
सार्वजनिक सहभागिता, उत्पादन क्षमता विस्तार र नयाँ उत्पादन लाइनको योजनाले अमुदी फुड्सको आगामी यात्रालाई नयाँ आयाम दिने सम्भावना बोकेको छ। तर कम्पनीको वास्तविक उपलब्धि भने योजना कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ, उत्पादन तथा बिक्री कति विस्तार हुन्छ र व्यवसायले कस्तो वित्तीय परिणाम दिन्छ भन्ने कुराले निर्धारण गर्नेछ।
प्रतिक्रिया