काठमाडौैं- लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवागमन प्रभावित भएको छ ।
महाकाली नदीमा आज गरिएको मापनअनुसार नदीमा पानीको बहाव एक लाख ७५ हजार ७०० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए। महाकाली नदीमा पानीको बहाव बढ्दा शारदा ब्यारेज (बनवासा पुल) मा भारतीय पक्षले चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । मोटरसाइकललगायत साना सवारीसाधन मात्रै सञ्चालन गर्न दिएको छ । करिब १०० वर्ष पुरानो बनवासा पुल भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि ठूला सवारीसाधन आवागमनमा रोक लगाउँदै आएको छ ।
सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला, बैतडी र डडेल्धुराका साथै भारतीय क्षेत्रमा भइरहेको लगातारको वर्षाले महाकाली नदीमा पानीको बहाव बढेको हो । प्रवक्ता रावतका अनुसार निरन्तर वर्षासँगै महाकालीमा पानीको बहाव बढिरहेकाले सर्तकता अपनाउन तटीय क्षेत्रका नागरिकलाई अनुरोध गरिएको छ । अहिले पुलमा दुवैतर्फ ठूला सवारीसाधन सञ्चालन गर्न दिइएको छैन ।
त्यसैगरी भारी वर्षा भएर जनधनको क्षति हुन सक्ने आँकलनपछि विपद् पूर्वतयारी अनुरुप दुई दिनदेखि कञ्चनपुरको महेन्द्रनगर र बेलौरीबाट चल्ने लामो दुरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिका अध्यक्ष नवीन भट्टले शुक्रबारदेखिको वर्षाका कारण काठमाडौैं, पोखरालगायत लामो दुरीका यात्रुवाहक बस सञ्चालन नभएको बताए ।
“धनगढी/महेन्द्रनगरलगायत छोटो दुरीका सवारीसाधन चले पनि लामो दुरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ”, अध्यक्ष भट्टले भने, “त्यसैगरी यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्लामा सवारीसाधन पठाइएको छैन । पहाडमा लगातारको वर्षाले पहिरोको जोखिम छ ।”
प्रतिक्रिया