अर्थ समितिको बैठक

पुँजी बजार सुधारका लागि तीन चरणको रणनीति, ब्रोकरदेखि नेप्सेसम्म सुधार गरिँदै

बुधबार, १४ असोज २०८३, ११ : ३५

काठमाडौं- नेपाल धितोपत्र बोर्डले पुँजी बजारको समग्र विकासका लागि प्राथमिक र दोस्रो बजारलाई समेटेर तीन चरणमा सुधार रणनीति अघि बढाएको छ।

बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले अर्थ समितिको बैठकमा बजारका सहभागी तथा सरोकारवालाको सहभागितामा नीतिगत सुधार, पूर्वाधार विकास र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिइएको जानकारी दिएका हुन्।

पुँजी बजार सुधारका लागि बोर्डले प्राथमिक र दोस्रो बजारका लागि छुट्टाछुट्टै सुधार समिति गठन गरेको छ। समितिमा नेपाल स्टक एक्सचेन्ज ९नेप्से०, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, नेपाल उद्योग वाणिज्य महासंघ र मर्चेन्ट बैंकर्स एसोसिएसनका प्रतिनिधि सहभागी छन्।

बोर्डले सुधार प्रक्रियालाई पारदर्शी बनाउन चरणबद्ध विधि अपनाएको जनाएको छ। सुरुमा अवधारणापत्र तयार गर्ने, सम्बन्धित समितिमा छलफल गर्ने, सार्वजनिक परामर्शमार्फत सुझाव लिने र त्यसपछि नीतिगत व्यवस्था कार्यान्वयन गर्ने योजना रहेको छ।

अध्यक्ष भट्टका अनुसार प्राथमिक बजारतर्फ आईपीओ निष्कासन, मूल्य निर्धारण, योग्य संस्थागत लगानीकर्ता, सेयर बाँडफाँट तथा म्युचुअल फन्डलगायत विषयमा सुधारका नीति तयार भइसकेका छन्। बजारको तयारी र सहभागीको अवस्थालाई ध्यानमा राखेर ती नीति क्रमशः कार्यान्वयन गरिने बोर्डले जनाएको छ।

दोस्रो बजारतर्फ भने ब्रोकर व्यवसायको पुनर्संरचनालाई प्राथमिकतामा राखिएको छ। पारिवारिक प्रकृतिमा सीमित ब्रोकर व्यवसायलाई व्यवस्थित उद्योगका रूपमा विकास गर्दै क्षमता अभिवृद्धि गर्ने नीति बोर्डले अघि सारेको छ।

बोर्डका अनुसार ब्रोकर कम्पनीलाई कार्यक्षमता र सेवा क्षमताका आधारमा चार श्रेणीमा वर्गीकरण गरी स्टक डिलरसिपसहितको विस्तृत संरचनामा लैजाने योजना छ।

त्यस्तै, दोस्रो बजारको प्रमुख पूर्वाधारका रूपमा रहेको नेप्सेको प्राविधिक तथा संस्थागत सुधारलाई पनि बोर्डले प्राथमिकता दिएको छ। नेप्सेको कारोबार तथा आदेश व्यवस्थापन प्रणाली, साइबर सुरक्षा र सूचना प्रविधिसम्बन्धी संरचनामा देखिएका कमजोरी सुधार गर्न आवश्यक नियामकीय व्यवस्था तयार पारिएको अध्यक्ष भट्टले बताए।

उनका अनुसार नेप्सेसँग सम्बन्धित करिब ३१ देखि ३२ वटा नियामकीय व्यवस्था तयार गरी क्रमशः कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाइएको छ। सरकारी स्वामित्वका संस्थाबीचको समन्वय अभाव तथा क्षेत्राधिकारसम्बन्धी समस्या समाधान गर्दै नेप्सेको संस्थागत र प्राविधिक क्षमता सुधार गर्ने बोर्डको योजना छ।

बुधबार, १४ असोज २०८३, ११ : ३५

प्रतिक्रिया