बाढीपीडित गायक प्रचण्डबाबुको 'खै कहा छ मेरो गाउँ' बोलको गीत सार्वजनिक (भिडियो)

आइतबार, १८ असोज २०८३, १५ : ५३

काठमाडौं– रसुवाभोटेकोशी हुँदै त्रिशूली नदीमा भदौ १० मा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा पर्ने नदी तटीय क्षेत्रमा व्यापक जनधनको ठुलो क्षति भयो । 

यो प्राकृतिक प्रकोपले कयौँ भौतिक संरचनाहरू ध्वस्त मात्र भएन, प्रभावित क्षेत्रका बासिन्दाको मनमा कहिल्यै निको नहुने घाउ समेत दिएको छ । विपत्तिले दिएको त्यही पीडा, छटपटी,आफ्नो गाउँठाउँ र आफन्त गुमाउँदाको रोदनलाई धेरै रचनाकारले आफ्ना सिर्जनामार्फत उतारेका छन् । 

त्रिशूलीको बाढीले बगाएका बस्ती, भत्किएका सपना र फेरिएको भूगोलको कथालाई समेटेर बाढीबाट एउटा सभ्यतानै सकिएको देवीघाटका गायक प्रचण्ड बाबु राइले'खै कहा छ मेरो गाउँ' गीत ल्याएका छन् । गीतकार उमेश लम्सालको शब्द रचना र संगीतकार हरि लम्सालको संगीत रहेको गीतले  प्राकृतिक विपत्तिका कारण सिर्जना भएको पीडा र बस्ती विस्थापनलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । दीक्षित पौडेलले गीतको एरेन्ज गरेका हुन्  ।

आफैं घर गुमाएका बाढीपिडित गायक प्रचण्डबाबु र पवित्रा आचार्यले  गीतको भिडियोमा मार्मिक अभिनय गरेका छन् । बाढी प्रभावित क्षेत्रमा नै खिचेर भिडियो तयार गरिएको छ  ।

शिबन पोखरेलको निर्देशनमा बनेको भिडियोमा  सुदीप मैनालीको सिनेमाटोग्राफी ,निरन्जन के सीको सम्पादन रहेको भिडियोलाई टुभेलनोट नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

आइतबार, १८ असोज २०८३, १५ : ५३

प्रतिक्रिया