दशैं–तिहारमा बन्दीपुर हिलमा ९ दिने फुड फेस्टिभल, प्रवेश निःशुल्क

बुधबार, २८ असोज २०८३, १३ : ३९

काठमाडौं-  दशैं–तिहार २०८३ को अवसरमा बन्दीपुर हिलले ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको ब्रान्ड बन्दीपुर हिलले आयोजना गर्न लागेको महोत्सवमा स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विभिन्न आकर्षण समावेश गरिनेछन् ।

बन्दीपुर केवलकारको तल्लो स्टेसनमा आयोजना हुने महोत्सव दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण असोज २८ देखि कात्तिक १ गतेसम्म र दोस्रो चरण कात्तिक ७ देखि १० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । महोत्सवमा प्रवेश निःशुल्क रहनेछ ।

महोत्सवका क्रममा स्थानीय परिकारको स्वाद लिनुका साथै रमाइला खेल, सांस्कृतिक प्रस्तुति र बालबालिका तथा परिवारका लागि विशेष गतिविधिमा सहभागी हुन सकिनेछ । बालबालिकाका लागि छुट्टै ‘किड्स जोन’ समेत रहनेछ ।

त्यस्तै, बन्दीपुर केवलकार, जिपलाइन र स्काई साइकलिङजस्ता साहसिक गतिविधिले महोत्सवमा आउने पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

दशैं–तिहार लक्षित अभियानअन्तर्गत बन्दीपुर हिलले प्रमुख यात्रा मार्ग तथा विभिन्न स्थानमा रहेका पर्यटन साझेदारमार्फत प्रवर्द्धनात्मक कुपनसमेत वितरण गर्ने जनाएको छ ।

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका मार्केटिङ म्यानेजर विभु गौतमले बन्दीपुर हिललाई नेपालको एक प्रिमियम पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढिरहेको बताए । उनका अनुसार बन्दीपुर फेस्टले राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा परिवारलाई बन्दीपुरको संस्कृति, स्थानीय स्वाद र साहसिक अनुभवसँग जोड्ने अवसर प्रदान गर्नेछ ।

कार्यक्रम संयोजक सुरज राईले महोत्सव सबैका लागि खुला रहने र प्रवेश निःशुल्क हुने जानकारी दिए । स्थानीय बासिन्दा तथा बाहिरबाट आउने पर्यटकलाई उत्सवमय वातावरणमा सहभागी गराउनु कार्यक्रमको उद्देश्य रहेको उनले बताए ।

प्राकृतिक सौन्दर्य, मनोरम हिमाली दृश्य, सांस्कृतिक अनुभव र साहसिक गतिविधिका लागि परिचित बन्दीपुर हिलमा केवलकार, स्तरीय रेस्टुरेन्टलगायत विभिन्न सुविधा उपलब्ध छन् । दशैं–तिहारको बिदामा परिवार तथा साथीभाइसँग घुम्न चाहनेका लागि बन्दीपुर फेस्ट आकर्षक गन्तव्य बन्न सक्ने अपेक्षा गरिएको छ ।

बुधबार, २८ असोज २०८३, १३ : ३९

प्रतिक्रिया