अपडेट

खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले बनायो छुट्टै छानबिन समिति

विहीबार, २९ असोज २०८३, १४ : ३८

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको महिला हिंसासम्बन्धी अडिओ प्रकरणको अनुसन्धान गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगले छुट्टै छानबिन समिति गठन गरेको छ।

बिहीबार बसेको आयोगको बैठकले उपप्रमुख हरिचन्द्र भट्टराईको संयोजकत्वमा समिति गठन गरेको हो। समितिले सार्वजनिक अडिओ तथा पीडित भनिएकी महिलासँग सम्बन्धित भिडिओको प्राविधिक जाँच गरी सत्यतथ्य पत्ता लगाउनेछ।

अनुशासन आयोगका अनुसार सुरुमा अडिओ सार्वजनिक गर्ने जनआस्था पत्रिका र त्यसपछि महिलाको अन्तर्वार्ता प्रसारण गरेको न्युज २४ लाई पत्राचार गरी प्रमाण मागिनेछ। प्राप्त अडिओ तथा भिडिओको अध्ययनपछि सम्बन्धित पक्षसँग सोधपुछ गरिने र आवश्यक परे विशेषज्ञको रायसमेत लिइनेछ।

सांसद सुनारले सार्वजनिक अडिओमा सुनिएको स्वर आफ्नो नभएको भन्दै अस्वीकार गरेपछि प्राविधिक परीक्षण गर्नुपर्ने अवस्था आएको आयोगका एक सदस्यले बताएका छन्। अब छानबिन समितिले प्रमाण सङ्कलन तथा परीक्षण गरी आफ्नो रायसहितको प्रतिवेदन केन्द्रीय अनुशासन आयोगलाई बुझाउनेछ। त्यसपछि आयोगले समग्र विषयको अध्ययन गरेर निष्कर्ष निकाल्नेछ।

तर, छानबिनका सबै काम दसैँअघि पूरा नहुने आयोगले जनाएको छ। दसैँअघि सम्बन्धित सञ्चारमाध्यमसँग प्रमाणका लागि सहयोग मागिने र चाडपर्वपछि अनुसन्धानलाई तीव्रता दिइने आयोगका एक सदस्यले बताएका छन्।

एक महिलालाई अश्लील शब्द प्रयोग गरी गाली गरेको र पैसा नदिए ज्यान मार्ने धम्की दिएको भनिएको अडिओ सार्वजनिक भएपछि सांसद सुनार विवादमा तानिएका हुन्। घटनालाई लिएर आलोचना बढेपछि रास्वपाले आफ्ना सांसदबारे आन्तरिक अनुसन्धान अघि बढाएको हो। यद्यपि, अडिओको प्रामाणिकता र घटनाको वास्तविकताबारे छानबिनबाट निष्कर्ष आउन बाँकी छ।

विहीबार, २९ असोज २०८३, १४ : ३८

प्रतिक्रिया