मेलम्चीमा नयाँ ठेकेदारबाट नयाँ आशा, अर्को दशैंसम्म काठमाडौंमा पानी

४ बर्ष अगाडि

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा नयाँ ठेकेदारले काम शुरु गरेसँगै नयाँ आशा पलाएको सरकारी अधिकारीहरुले बताएका छन् । 

सरकारले केही साताअघि एक चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोलाई मेलम्चीको बाँकी काम पूरा गर्ने जिम्मेवारी दिएपछि अबको एक वर्षभित्र पानी काठमाडौंमा आउने आशा उनीहरुले गरेका हुन् । 

मेलम्ची नदीको पानी ल्याउनका लागि नदीमा सानो बाँध बनाएर जम्मा हुने पानी सुरुङभित्र सोझ्याउने ‘हेडवर्क्स्’को काम र २७ किलोमिटर सुरुङको भित्री भाग सबल बनउनेकाम सिनोहाइड्रोले पाएको हो । सुरुङ छिचोल्ने काम भने गत वर्ष नै पूरा भइसकेको थियो । 

बाँकी काम सम्पन्न गर्न १५ महिनाको म्याद पाएको सिनोहाइड्रोले २०७७ साल पुसभित्र पानी काठमाडौं झार्नुपर्ने भएपनि त्योभन्दा पनि चाँडो सक्नेगरी काम अगाडी बढेको अधिकारीहरू बताउँछन् ।

समयअगावै काम पूरा गरे ठेकेदार कम्पनीले लाभांश पाउने व्यवस्था गरिएकोले सिनोहाइड्रोले २०७७ साल असार मसान्तभित्रै मेलम्चीका बाँकी काम पूरा गने सम्भावना प्रबल रहेको मेलम्ची खानेपानी विकास बोर्डका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताए । 

“हामीले ठेकेदारलाई चाँडै काम सके लाभांश दिने भनेका छौँ। त्यसैले यो आयोजनाको काम आगामी असार मसान्तभित्रै सकिन सक्छ ,’’ उनले भने । 

१ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी रकमको ठेक्का पाएको ठेकेदार कम्पनीले पनि सकेसम्म चाँडो काम सक्नेगरी तयारी भएको बताएको छ । 

नदीको पानीलाई सुरुङभित्र मोड्ने र सुरुङलाई सबल गराउने काम पूरा भएपछि मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डू ल्याउने सरकारी योजना छ ।

अघिल्लो दशैँसम्ममा सम्पन्न हुने भनी प्रचार गरिएको भएपनि पानी ल्याउने काम असफल भयो । 

अब भने बाँधको काम केही महिनाभित्रै पूरा हुन नसकेमा अस्थायी संरचना बनाएरै भएपनि दशैँअघिसम्ममा काठमाण्डूमा मेलम्चीको पानी ल्याउने  खत्रीले बताए । 

रु ३५ करोड अमेरिकी डलर लागतको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाबाट मेचम्ची नदीको पानी  काठमाण्डूको सुन्दरीजलमा झरेपछि त्यसलाई वैज्ञानिक तरिकाले वितरण गरिने छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया