होमियोप्याथी औषधिको वितरण शुरु

शुक्रबार, ०२ जेठ २०७७, १६ : २०

कोरोना भाइरसको  त्रास बढिरहँदा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधिको वितरण थालिएको छ । 

भक्तपुर होमियोप्याथिक मेडिकल कलेज भक्तपुर, पशुपति होमियोप्याथिक अस्पताल पाटन, अखिल नेपाल होमियोप्याथिक एशोसिएसनलगायत नौ संस्थाको पहलमा कोभिड–१९ को सङ्क्रमणबाट जोगिन कार्यस्थलमा अग्रपङ्क्तिमा खटिनुपर्ने सुरक्षाकर्मी, स्वयंसेवी, मजदुर, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई यो औषधि बाँड्न थालिएको हो ।   

विभिन्न अनुसन्धानबाट कोभिड–१९ को जोखिम हुन नदिन ‘आर्सेनिकम अल्बम ३० सी’ नामक होमियोप्याथिक औषधि प्रभावकारी देखिएको भक्तपुर होमियोप्याथिक मेडिकल कलेजका चिकित्सक डा कृष्ण डङ्गोलले जानकारी दिए । 

उनका अनुसार इजरालय र भारतमा यसको परीक्षण भइसकेको छ । कोभिड–१९ बाट सङ्क्रमित ६ हजारमा परीक्षण गरिँदा ११ जनामा मात्र सङ्क्रमण दोहोरिएको देखियो । 

अहिले बाँडिएको औषधि कोभिड–१९ कै औषधि नभई मानिसमा प्रतिरोधात्मक क्षमता बढाउने रसायन हो । सङ्क्रमितकै उपचारका लागि थप केही औषधि पनि सेवन गर्न लगाइन्छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत वैशाख १७ गते कोभिड–१९ को रोकथामका लागि आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा पद्धतिसम्बन्धी मापदण्ड ल्याएपछि होमियोप्याथीको उक्त औषधिले वितरणका लागि स्वीकृति पाएको हो । 

यो औषधिको सेवनकर्ताले समय मिलाएर एक महिनाभित्र १२ गोली लिनुपर्छ ।     

पछिल्लोपटक यो औषधिको वितरण कार्यमा नेपाल राष्ट्रिय मारवाडी परिषद्, फसिकेब्वले सघाउन थालेको छ ।
 

शुक्रबार, ०२ जेठ २०७७, १६ : २०

प्रतिक्रिया