अर्वपति विनोद चौधरीले डुबाउने भए साञ्जेन जलविद्युत् , प्राधिकरणको नेतृत्व मौन

५ बर्ष अगाडि


काठमाडौं । नेपालका उद्योगपति विनोद चौधरीको जताततै नाम, दाम र शान पनि छ । देशभित्र र बाहिर उनी खर्बपति व्यवसायीको रुपमा चिनिन्छन् । बैंक, चाउचाउ उद्योगदेखि सिमेन्ट उद्योगमा समेत उनको लगानी छ । नेपालको हकमा भन्नु पर्दा चौधरी समूहलाई आम मान्छेले प्रतिष्ठित संस्थाको रुपमा लिन्छन् । 

उनी विगतमा तत्कालीन नेकपा(एमाले)का तर्फबाट सांसद भएका थिए । पछि व्यवसायिक कारोबारमा धक्का पुग्ने देखे र काँग्रेस प्रवेश गरे । विगतमा एमालेले गरेको गुन बिर्सिए र उनी एमालेलाई नै गाली गर्दै बाँग्रेस बने । निर्वाचन सभाहरुमा हेलिकोप्टर लिएर कम्युनिस्टलाई गाली गर्दै दर्जनौ सभामा सहभागी भए । 

पैसाको बलमा उनलाई सांसद भएको आरोप विगतमा पनि लागेको थियो, पछिल्लो पटक पनि लाग्यो । उनले कहिल्यै सो विषयमा खण्डन गरेनन् । बरु विगतमा एमालेको सांसद भएर आफूले आफैलाई न्याय नगरेको जस्ता कुतर्क गर्दै भाषण गरेर दुनियाँलाई छक्काए । 

गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काँग्रेस नराम्रोसँग हार्यो । वाम लहरको अगाडि उनको केही पनि चलेन । उनका धेरै जसो भाषण त्यत्तिकै खेर पनि गयो । तर पैसाको बल न थियो, उनी काँग्रेसको कोटाबाट सांसद भने भए । उनी प्रतिनिधिसभाका लागि काँग्रेसको तर्फबाट समानुपातिक सांसद छन् । 

नेपालमा कर छली, राजस्व मार्न समेत अनेकन प्रयास गरेको विषय उनका लागि नयाँ नौलो भने पटक्कै छैन । विगतमा अन्तशुल्क समेत नतिरेर राज्यलाई च्यालेन्ज गरेका चोधरीलाई कोही कसैले पनि कारवाही गर्न सकेको छैन । उनको उद्योगले उत्पादन गर्ने चाउ चाउको उचित तौल नभएको विषयमा पटक पटक उजुरी भएपनि सरकारी निकायले कारवाही गर्न सकेको छैन । 

तर हरेक क्षेत्रमा बदमासी गर्दै आएका चौधरीलेको हिमाल हाइड्रोले नेपाली जनताको लगानीमा निर्माण भइरहेको साञ्जेन जलविद्युत् आयोजनामा चरम बदमासी गरिरहेको छ । सो आयोजनाको सिभिल निर्माणको जिम्मा लिएको हिमाल हाइड्रोको बदमासीका कारण आयोजना अझै एकाध वर्ष पर धकेलिने सम्भावना बढेर गएको छ । 

आफूलाई अर्बपति दावी गर्ने चौधरीको स्वामित्व रहेको हिमाल हाइड्रोले नेपाली जनताको लगानी रहेको साञ्जेन जलविद्युत् आयोजना अलपत्र पारेका छन् ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा रहेको साञ्जेन जलविद्युत् आयोजनाले निर्माण गरिरहेको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको प्रमुख ठेकेदारका रुपमा हिमाल हाइड्रो रहेको छ । 

सो ठेकेदार कम्पनीले समयमा काम नगर्ने, आयोजनाबाट पैसा लिने र बेपत्ता हुने गरेको पाइएको आयोजनाका पदाधिकारी बताउँछ् । 

रसुवामा निर्माणाधिन साञ्जेन जलविद्युत् आयोजनाको प्रमुख काम अलपत्र पार्नमा चौधरीको हिमाल हाइड्रो जिम्मेवार रहेको छ । 

अर्बपति चौधरीको हिमाल हाइड्रो लिमिटेड ठेकेदार कम्पनीका कारण ४२.५ मेगावाट क्षमताको तल्लो साञ्जेन आयोजनाको निर्माण कार्य नराम्ररी प्रभावित भएको छ । 

आयोजना विगत ७  महिनादेखि समस्यामा परेको सम्बन्धित आयोजनाले जानकारी दिएको छ । आयोजनाको प्रमुख काम नै अलपत्र पारेर ठेकेदार कम्पनीले आयोजनासँग निहुँ खोज्ने काम गरिरहेको छ ।

भूमिगत संरचना निर्माण गर्न सहायक ठेक्का पाएको हिमाल हाइड्रोको असक्षमताका कारण आयोजना प्रभावित भएको हो । 

भारतीय तथा नेपाली कम्पनी एसइडब्लु टुन्डी जेभीले मुख्य सुरुङ र भर्टिकल साफ्ट सुरुङ निर्माण गर्न हिमाल हाइड्रोलाई सहायक ठेक्का दिएको थियो । 

ठेकेदारको लापरबाहीले आयोजनाको कामले गति लिन नसक्दा विद्युत उत्पादन गर्ने समय पर सर्ने अवस्था आएको बताइएको छ । सान्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पनि हिमाल हाइड्रोका कारण आयोजना समस्यामा परेको बताएका छन् । 

‘भूमिगत संरचनाको सबै काम हिमाल हाइड्रोको जिम्मामा रहेको छ । विगत ७ महिनादेखि निर्माण कार्यमा लत्तो छाडेको हिमाल हाइड्रोले पछिल्लो तीन महिनादेखि भने काम नै नगर्ने र उल्टै निहुँ मात्रै खोज्ने गरेको छ ।

आयोजना प्रमुखका अनुसार पछिल्लो ३ महिनाको प्रगति हेर्दा निर्धारित  समयमा आयोजना पूरा नहुने अवस्था आएको छ । कामको गतिलाई तीव्रता दिन पटक पटक ताकेता गरे पनि हिमाल हाइड्रोले अटेरी गरिरहेको कम्पनीले जनाएको छ ।
 हिमाल हाइड्रोले जिम्मा लिएको आयोजनाको मुख्य सुरुङ र छड्के भर्टिकलसुरुङ लगायतको कामको गति एकदमै सुस्त रहेको छ । कूल २५० मिटर लामो छड्के भर्टिकलसुरुङ पूरा गर्न २ वर्ष लगाएको हिमाल हाइड्रोले सोही खालको अर्को सुरुङ निर्माणमा समेत दुई वर्ष भन्दा बढी लगाउने अवस्था देखिएको छ । 

आयोजनामा काम नै नगर्ने, दुई चार जना मजदुर तथा कर्मचारी परिचालन गर्ने गरिएको छ । हिमाल हाइड्रोले काममा कुनै पनि प्रकारको चासो देखाएको छैन । 

सरकारले साच्चिकै कारवाही गर्ने आँट गर्ने हो भने विनोद चौधरी समेत कारवाहीको दायरामा आउने निश्चितप्राय थियो । तर बादल आफै गले । साञ्जेन जलविद्युत् आयोजनाको काम रोक्ने चौधरीलाई तत्काल कानुनी कारवाही गर्न सरकारले आँट गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।
कम्पनी टाट पल्टिएको काइते तर्क अगाडि सारेर हिमाल हाइड्रोले काम रोकेको र निहुँ खोज्ने मात्रै काम गरेको पाइएको छ । आयोजनाले मुख्य ठेकेदारसँग सम्झौता गरेकाले काम गरेको रकम सोझै हिमाल हाइड्रोलाई भुक्तानी दिन नमिल्ने कम्पनीले जनाएको छ । हिमाल हाइड्रोले पनि आफैंले रकम निकासा गरेर काम गराउन सकेको छैन । यही कारण विद्युत उत्पादनको समय धकेलिने देखिएको छ ।

हिमाल हाइड्रो सिभिल संरचना निर्माण गर्न नर्वेजियन कम्पनी स्टेटक्राफ्टले स्थापना गरेको कम्पनी हो । यही कम्पनीले नर्वेको लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्तीको सुरुङ खनेको थियो । नर्वेजियनले छोडेपछि नेपालमा यो कम्पनीले दर्जनौं आयोजनामा निर्माण गरेको छ । तर, चौधरीको स्वामित्वमा आएपछि कम्पनी धराशयी हुँदै गएको हो । आयोजनाबाट आगामी डेढ वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ । तर, यही क्रियाकलाप दोहोरिइरहने हो भने आयोजनाबाट विद्युत उत्पादन हुने समय धेरै पर धकेलिने अवस्था आएको आयोजनाको भनाई छ । सो आयोजना समयमा सम्पन्न नहुने हो भने त्यसबाट कम्पनी तथा नेपाल विद्युत प्राधिकरणलाई ठूलो आर्थिक नोक्सानी हुने देखिएको छ ।

आयोजनामा भइरहेको ढिलाईका बारेमा जनआह्वानले उद्योगपति विनोद चौधरीलाई फोन लगायो । एकाध पटक त उनले फोन उठाएनन्  ।चौधरीको कम्पनीका कारण आयोजनाको काम रोकिएपछि आयोजना प्रमुख किरणकुमार श्रेष्ठले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पटक पटक  जानकारी गराएका छन् । तर घिसिङले समेत चौधरीलाई हालसम्म कुनै पनि कारवाही गर्न सकेका छैनन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया