पर्यटकीयस्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण

३ बर्ष अगाडि

म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ । 

गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले मालिका–७ बिम र वडा नं ६ को दुखु हुँदै मालिका धुरी जाने पदमार्ग निर्माण गरेको हो । कार्यालयका संरक्षण अधिकृत शम्भुकुमार मिश्रले एक हजार २७२ मिटर पदमार्ग निर्माण भएको जानकारी दिए । 

“उकालोमा १।५ मिटर चौडाइमा ढुङ्गा चिनेर र तेर्सोमा ढुङ्गा बिछ्याइएको छ”, उनले भने, “उपभोक्ता समितिले रु ३९ लाख २० हजार भुक्तानी लगेका छन् ।” देउराली भन्ने ठाउँभन्दा केही माथिबाट मालिका धुरीसम्मै पदमार्ग बनाइएको हो । 

यसैगरी मालिका धुरी परिसरमा ५१० मिटर सुक्खा पर्खाल निर्माण भएको छ । पदमार्गमा प्रयोग गर्ने ढुङ्गा ओसार्न थप ३०० मिटर माटो काटेर पदमार्ग बनाइएको छ । डेढ सय स्थानीय युवाले एक महिनासम्म जङ्गलमा बास बसेर पदमार्ग निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष देवबहादुर पुनले बताए । “नजिकै बस्ती नभएकाले जङ्गलमै बास बसेर पदमार्ग बनायौँ”, उनले भने, “मजदुरलाई शिविर बनाएर राख्नुपर्दा व्यवस्थापनमा पनि खर्च भयो ।” 
 

३ बर्ष अगाडि

प्रतिक्रिया