फेम्बू भए कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष

३ बर्ष अगाडि

ताप्लेजुङ -  ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्षमा खगेन्द्र लिम्बू फेम्बू सर्वसम्मतिले चयन भएका छन् । 

अध्यक्षको चयनसँगै यही फागुन ३ गतेदेखि शुरु भएको दोस्रो चरणको पुनःगठन प्रक्रियाले आज पूर्णता पाएको हो । 

परिषद्का सदस्यसचिवमा कञ्चनजङ्घा उपभोक्ता समितिबाट मनकुमार राई र कोषाध्यक्षमा घुन्सा सेकाथुम उपभोक्ता समितिबाट फुपु छोवाङ शेर्पा सर्वसम्मतिका आधारमा छनोट भएको परिषद्का संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । 

उनका अनुसार फेम्बू कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तेस्रो कार्याकालका लागि परिषद्को अध्यक्षमा छनोट भएको छ । 

गत पुस ७ गतेदेखि परिषद्को पुनःगठन प्रक्रिया शुरु भएको थियो । दुईवटा समिति गठन प्रक्रिया पूरा गरेसँगै सुरक्षाको चुनौती आएको भन्दै गत पुस २४ गते पुनःगठन प्रक्रिया स्थागन गरेको थियो । 

परिषद् गठन प्रक्रियामा केही असन्तुष्ट पक्षले परिषद् पुनःगठन नियमावलीअनुसार नभएको भनेर तीन वटा उपभोक्ता समूह रद्द गरेर पुनःगठन गर्न माग गर्दै उच्च अदालत इलाममा तीनवटा मुद्दा दर्तासमेत भएको थियो । 

तर उच्च अदालत इलामले आन्तरिम आदेश जारी नगरेकाले गत फागुन ३ गतेदेखि पुनःगठन प्रक्रिया शुरु गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सहायक कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए ।      

एक समिति पुनःगठन हुन बाँकी 
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्अन्तर्गत सात समिति रहेको छ । समूह गठन प्रक्रियामा नियमविपरीत भएको भन्दै कुमार हेल्लोकको समूहले समिति गठन प्रक्रियामा भाग नलिएपछि सिबुवा खोला उपभोक्ता समितिको गठन हुननसकेको हो । 

बुधबार खगेन्द्र फेम्बू र कुमार हेल्लोकको दुई पक्षलाई छलफलका लागि बोलाइए पनि कुमार हेल्लोकको पक्ष छलफलमा नआएपछि स्थगन गरेको संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।

उनका अनुसार सिबुवा खोला उपभोक्ता समिति केही पछाडि पुनःगठन गर्ने निर्णय भएको बताए । परिषद्मा १३ सदस्यीय रहने व्यवस्था छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया