विदेशी पर्यटक आउन छोडेपछि फेरिन थाल्यो आन्तरिक पर्यटन गन्तव्य

३ बर्ष अगाडि

काठमाडौं - बागलुङ आन्तरिक पर्यटनका गन्तव्य फेरिएको छ । त्यहाँका विभिन्न भेला तथा संघ संस्थाहरूले आन्तरिक पर्यटनका गन्तव्य रोजेका छन् । 

नेपाल शिक्षक सङ्घले पालिकास्तरीय भेला गर्दा जैमिनीको हाँडीकोट, गलकोटको निलुवा, ढोरपाटन र निसीको पातीहाल्नेका पर्यटकीय क्षेत्र रोजेको थियो । राष्ट्रिय युवा सङ्घ र नेपाल तरुण दलको भेला पनि जैमिनीकै हाँडीकोटमा नै भएको थियो । 

सदरमुकामकै अमर आदर्श माविको शैक्षिक भ्रमण टोलीले यस वर्ष ढोरपाटनलाई प्रमुख गन्तव्य बनाएको थियो । गलकोट दरबार र टेउवास्थित अन्तर्राष्ट्रिय मूर्तिकला केन्द्र र गाईघाट झरना पुगेर टोलीले भ्रमण गरेका थिए । 

पछिल्लो समय आन्तरिक पर्यटनका लागि बागलुङ प्राथमिकतामा पर्न थालेको छ । “पहिला घुम्न पोखरा जान्थ्यौँ, अहिले कालिका र पञ्चकोट हेर्न पोखराका धेरै मानिस आउन थालेका छन्”, बागलुङ पर्यटन समितिका अध्यक्ष राजु खड्काले भने, “हाम्रा क्षेत्रले पनि पर्यटक आकर्षण गर्न सक्छन् भन्ने देखाउन पायौँ ।”

कोरोना महामारीका कारण विदेशी पर्यटक आउन सक्ने अवस्था छैन । यसअवधिमा बागलुङ आएका आन्तरिक पर्यटकले आम्दानीमात्रै नभई पर्यटकीय क्षेत्रको प्रचारसमेत भएको छ । 

कोरोना सङ्क्रमण हटेको र लकडाउन खुला भएको अवसरमा अघिल्लो महिना होटल सङ्घ बागलुङले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि बागलुङदेखि ढोरपाटन, गाईघाट, घुम्टेलगायतका स्थानमा मोटरसाइकल यात्रासमेत गरायो । 

तत्काल विदेशी पर्यटक नआउने अवस्था भएकाले जिल्लाभित्रै घुम्ने संस्कृतिको विकास गरिएको अध्यक्ष निलेस राजभण्डारीले बताए । 

बागलुङमा पछिल्लो पटक निर्माण सम्पन्न भएर सञ्चालनमा रहेको बाङ्गेचौर अदुवारी संसारकै लामो झोलुङ्गे पुलको क्षेत्रसमेत रोजाइमा पर्न थालेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया