भारतको उडानमा अन्य देशहरूले प्रतिबन्ध लगाउँदा नेपाली किन लगाएन ?

२ बर्ष अगाडि

काठमाडौं - भारतमा कोरोना भाइरसको महामारीको दोस्रो लहरले नयाँ रेकर्ड बनाउँदै हुँदा धेरै मुलुकहरूले भारत उडानमा अस्थायी प्रतिबन्ध लगाएका छन् । 

तर, नेपालले भने भारतसँगको उडान सुचारु राखेको छ । अहिले काठमाडौँ–दिल्ली दैनिक दुई उडान भइरहेको छ । भारत सरकार स्वामित्वको एयर इन्डिया र नेपाल वायु सेवा निगमले दैनिक १–१ उडान गर्दै आएका छन् । 

त्रिभुवन विमानस्थलले सरकारले निर्णय नगर्दासम्म भारतसँगको उडान सेड्युल अनुसार नै यथावत् सञ्चालन भैरहने  जनाएको छ । भारतमा कोरोना भाइरसको मल्टिपल म्युटिसन ९बी१६१७० फेला परेपछि त्यसलाई अन्य देशमा फैलन नदिन धेरै देशहरूले उडान अस्थायी रूपमा रोके पनि नेपालको भने त्यस्तो तयारी छैन । 

भारतमा उडान प्रतिबन्ध भएपछि धेरै भारतीयहरू नेपाल भएर विभिन्न गन्तव्यमा पुग्छन् भने तेश्रो मुलुकबाट काठमाडौँ हुँदै दिल्ली जाने गरेका छन् । यसअघि २०७६ चैतमा अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि अन्य मुलुकसँग उडान खोल्दा पनि भारतसँगको उडान बन्द नै राखेको थियो । 

झण्डै ९ महिनापछि गत मङ्सिरमा भारतसँग उडान सुचारु गर्ने सहमति भएको थियो । त्यसयता भारतबाट एयर इन्डिया र नेपालबाट नेपाल वायु सेवा निगमले काठमाडौँ–दिल्ली उडानको अनुमति पाएको थियो । विगतमा भारतसँग उडान सुचारु गर्ने सम्बन्धमा निकै कठोर देखिएको भएपनि सरकारले अहिले भारतमा महामारी उत्कर्षतिर जाँदै गर्दा पनि हवाइ सेवा सुचारु राखेको छ । 

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक १५ ओटा जति अन्तर्राष्ट्रिय उडान हुँदै आएका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया