यति एयसलाईन्समा जेटस्ट्रिम युगको अन्त्य, अब एटिआर उडानबाट सेवा

२ बर्ष अगाडि

 यति एयरलाईन्सले बेलायती जहाज जेटस्ट्रिम सदाका लागि बिदा गर्दै एटिआर जहाजमार्फत सेवा दिने घोषणा गरेको छ । 

उड्ययन क्षेत्रमा २३ वर्ष पूरा गरी  मंगलबारदेखि २४ वर्षे यात्रा तय गरेको यतिले वर्ष गाँठका अवसरमा अब २९ यात्रु सिट भएका जेटस्ट्रिम विमान अब कहिल्यै नउडाउने घोषणा गरेको हो ।
 
‘२४ वर्षे यात्रासँगै यतिले जेटस्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटिआर युगमा प्रवेश गरेको छ,’ यतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

आफूसँग भएका ६ मध्ये ५ वटा जेटस्ट्रिम विमान यतिले गुण एयरलायन्सलाई ५० करोडमा बिक्री गरिसकेको छ भने एउटा जेटस्ट्रिम जहाज काम नलाग्ने भइसकेको छ। अहिले यतिसँग सुगम उडानका लागि ७० सिट क्षमताका ५ वटा एटिआर विमान छन् । 

हाल यतिले काठमाडौंबाट नेपालगञ्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगर लगायत सुगममा उडान भर्दै आएको छ भने यसको भगिनी संस्था तारा एअरले ४ वटा ‘ट्वीन–अटर’ विमानमार्फत् दुर्गम हिमाली तथा पहाडी भागहरु लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुरा जस्ता विमानस्थलमा सेवा दिँदै आएको छ ।

आगामी वर्षमा नयाँ गन्तव्यमा उडान थप गरी बजार हिस्सा बढाउने, नयाँ जहाज थप गर्ने र  थप रोजगारी सिर्जना गर्ने यतिले जनाएको छ । साथै चार्टर उडानमार्फत अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गर्ने, नयाँ प्रविधिहरुलाई प्रयोगमा ल्याई हवाई सेवालाई परिस्कृत गर्दै थप गुणस्तरीय बनाउने र यात्रुहरुलाई प्रत्यक्ष लाभ हुने सहुलियत अफरहरु ल्याउने तथा सामाजिक उत्तरदायित्वहरुलाई निरन्तरता दिने समेत जनाइएको छ । 

यति एयरलाईन्स नेपालमा सबैभन्दा ठूलो हवाई सञ्जाल भएको एयरलाइन्स कम्पनी हो ।  २४ वषै पुगेको अबसरमा यतिले ग्राहकलाई सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै कल सेन्टरमा रुपान्तरण गरेको समेत जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया