साउन महिनामा करिब २१ अर्बको वस्तु निर्यात, व्यापार घाटा ७०.६ प्रतिशतले वृद्धि

२ बर्ष अगाडि

काठमाडौं, आर्थिक वर्ष पहिलो महिनामा करिब २१ अर्बको वस्तु निर्यात भएको छ । साउन महिनामा नेपालमा कुल २० अर्ब ७६ करोडको वस्तु निर्यात भएको हो ।  नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.९ प्रतिशतले वृद्धि भएको थियो । 

गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ क्रमशः १६७.० प्रतिशत, ४७.८ प्रतिशत र १७.५ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो (पोलिष्टर तथा अन्य), जुस, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, आयुर्वदिक औषधी, जडिबुटी, तार, तयारी छालाका समानलगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु आयात ७५.७ प्रतिशतले वृद्धि भई रु.१५० अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले घटेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८.७ प्रतिशत, ८७.६ प्रतिशत र १२०.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन लगायतका वस्तुको आयात बढेको छ भने रसायनिक मल, सिमेन्ट, सुर्ती,हवाईजहाजका पार्टपुर्जा, तयारी पोषाक लगायतका वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । त्यसैगरी, समीक्षा अवधिमा कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयात वृद्धि भएको छ ।

समीक्षा अवधीमा कुल वस्तु व्यापार घाटा ७०.६ प्रतिशतले वृद्धि भई रु.१२९ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो ।

यस्तै, समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.२ प्रतिशत
रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी रु. १८ अर्ब ८६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.९ अर्ब २६ करोड बराबरको यस्तो आयात भएको थियो ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया