शेयर बजार घट्दा रेमिट्यान्सले रोज्यो हुण्डीको बाटो

आइतबार, ०७ कार्तिक २०७८, ०७ : २०

काठमाडौं - नेपाली शेयर बजारको घट्दो क्रमसँगै वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले पनि हुण्डीको बाटो समाएको विज्ञहरूले बताएका छन् । 

नेपाली शेयर बजार प्रविधिमैत्री भएपछि विश्वभर छरिएका नेपालीले कोरोना भाइरस संक्रमणसँगै नेपाली शेयर बजारमा लगानी गर्न शुरू गरेका थिए भने रेमिट्यान्स पनि बैंकिङ च्यानलमार्फत आउँदा कोरोना संक्रमणको अवस्थामा पनि रेमिट्यान्स घटेको थिएन ।

कोरोना संक्रमणपछिको लकडाउनसँगै उकालो लागेको नेपाली शेयर बजारको सूचकांक ३२ सयभन्दा केही माथी पुगेर निरन्तर ओरालो लागिरहेको छ । सरकारी खर्चको कमी, बैंकहरुको बढ्दो ब्याजदर र शेयर कर्जामा गरिएको कडाइले नेपाली शेयर बजार दुई महिनायता ओरालो यात्रामा छ ।

शेयर बजारमा आएको गिरावटले वैदेशिक रोजगारमा रहेका नेपाली कामदारहरूले ठूलो परिमाणमा लगानी गुमाएको बताइएको छ । तर शेयरबजार निरन्तर घटेपछि तर्सिएका कामदारले शेयरमा लगानी गर्न छाडेर हुण्डीमार्फत रेमिट्यान्स पठाउन थालेको शेयर बजार विश्लेषक सन्तोष चौधरी बताउँछन् । हुण्डी कारोवारीले नेपाली कामदारको रकम जम्मा गरी विदेशमा नै राखेर सामान पठाएर व्यापार गर्दा रेमिट्यान्समार्फत नेपाल आउने विदेशी मुद्रा रोकिँदा विदेशी मुद्राको संचिति घटिरहेको बताइएको छ ।
 
वैदेशिक रोजगारीमा जापान, दक्षिण कोरिया गएका कामदार, अध्ययनका लागि अष्ट्रेलिया र युरोपेली मुलुकमा रहेका नेपालीको ठूलो हिस्सा शेयर बजारमा प्रवेश गर्दा नेपाली शेयर बजारले नयाँ रेकर्ड बनाएको थियोे भने बैकिङ च्यानलबाट आउने रेमिट्यान्स पनि उल्लेख्य बढेको थियोे । मध्यान्ह दैनिक
 

आइतबार, ०७ कार्तिक २०७८, ०७ : २०

प्रतिक्रिया