कतार भिसा सेन्टरमा सेटिङको प्रमाण

विहीबार, २५ कार्तिक २०७८, ०९ : ५०

काठमाडौं - वैदेशिक रोजगारीमा कतार जाने कामदारको सुविधा बढाउने भन्दै नेपालमा स्थापित कतार भिसा सेन्टर (क्यूभीसी) सेटिङमा चल्न थालेको फेरि गुनासो बढेको छ । 

क्यूभीसीले वैदेशिक रोजगारीमा कतार जाने कामदारलाई पारदर्शिता र खुला प्रतिस्पर्धाको आधारमा एप्वाईन्टमेन्ट दिनुपर्नेमा अनुचित साँठगाँठ गरेको वैदेशिक रोजगार व्यवसायीहरुको दाबी छ । बुधबार भएको घटनाले अनुचित साँठगाँठ गरेर एप्वाईन्टमेन्ट दिएको प्रष्ट भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले बताए ।

उनले भने, ‘सेटिङमा एप्वाईन्टमेन्ट दिइँदैछ भन्ने सूचना आयो, उक्त सूचना फलो गर्दै क्यूभीसी जाँदा सूचना सत्य देखियो, नोभेम्बर १० तारेखका लागि एजेन्टले जम्मा गरेका कामदारका लागि बुधबार नै एप्वाईन्टमेन्ट बाँडियो । तर महिना दिन अगाडिदेखि प्रयास गर्दै आएका कामदारले मौका पाएनन् । भिसा सेन्टरका म्यानेजर प्रताप गुरूङलाई प्रमाण नै देखाउँदा पनि स्वीकार गर्नुभएन ।’

भिसा सेन्टरले रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप लिनेदेखि भिसा सेन्टरमै कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया पूरा गर्दै आएको छ । त्यसका लागि म्यानपावर व्यवसायीले कामदारको तर्फबाट एप्वाईन्टमेन्ट लिने गरेका छन् । एप्वाईन्टमेन्ट लिएपछि भिसा प्रक्रियाका लागि कामदारको  कागजात स्क्यानिङ, मेडिकल, बीमा र भिसा प्रोसेसिङका सबै प्रक्रिया पूरा गर्ने गरिएको छ ।

महासचिव श्रेष्ठले भने, ‘भिसा प्रोसेसिङमा समेत नेपाली श्रमिकहरुले लामो समय कुर्नुपर्ने झन्झटको अन्त्य हुने विश्वास  गरिएको थियोे । तर सीमित म्यानपावर कम्पनीलाई सेटिङमा काम गर्ने अवसर दिने र अन्यलाई एप्वाईन्टमेन्टबाट बञ्चित गरिँदा व्यवसायी र कामदारलाई ठूलो अन्याय र भेदभाव भएको छ ।’

विगतमा पनि क्यूभीसीमा भेदभाव र सेटिङ भएको पाइएपछि व्यवस्थापनलाई भेटेर समस्याबारे अवगत गराएपछि कतारको सरकारी प्रक्रिया अनुसार भिसा सेन्टर सञ्चालन हुने हुँदा सेवाग्राहीलाई कुनै पनि समस्या नआउने आश्वासन पाएका हौं । तर व्यवहारमा सुधार भएको छैन । कतारबाट नेपाली कामदारको माग बढ्ने तर क्यूभीसीले पारदर्शिता र समानताका आधारमा व्यवहार नगर्ने हो भने संघले त्यसलाई गम्भीरतापूर्वक लिने छ ।’

सेन्टरमा कतिपय कामदारको जन्म मिति, नाम थर जस्ता सामान्य विषयमा पनि त्रुटी देखिएका कारण दोहो¥याएर फारम भर्नुपर्ने बाध्यता हुने गरेको छ । भिसा प्रक्रियाको मेडिकल परीक्षणमा क्षयरोग जस्ता समस्या देखिए त्यस्ता व्यक्तिलाई यसअघि जस्तो लामो समय नकुराई प्रकृति हेरी छिटो गरिदिने सहमति समेत भएको तर अनलाइन प्रणालीमा पहुँच नपाउँदा मुलुकका दुर्गम जिल्लाबाट आएका कामदारलाई समस्या भएको समेत उनले दाबी गरे । 

कतारमा उडान शुरु भएपछि कतार भिसा सेन्टर गत जुन ७ तारेखदेखि खुलेको हो । तर सेवा प्रवाह प्रभावकारी नभएको गुनासो यथावत् रहेको छ । आफ्नो नाम नबताउने शर्तमा एक व्यवसायीले सेन्टरमा सेटिङ नै भएको ठोकुवा गरे । मध्यान्ह दैनिक

विहीबार, २५ कार्तिक २०७८, ०९ : ५०

प्रतिक्रिया