जोखिमपूर्ण इराक ओमान यात्रा, ७ महिलाको उद्धार

२ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगारीको नाममा विभिन्न प्रलोभनमा पारी नेपाली महिला तथा किशोरीहरुलाई आकर्षक कमाइ हुने भनी भारत हुँदै खाडी मुलुक पुर्‍याउने बिचौलियाहरुको सक्रियता बढ्दै  गएको छ । 

निकै सोझा र केही नजान्ने महिला तथा किशोरीहरुलाई जोखिमपूर्णरुपमा भारत हुँदै इराक, ओमान जस्ता देशमा लैजाने गरेको पाइएको छ । 

यसैबीच आफन्त नेपालले आइतबार र सोमबार गरी ७ जना महिलालाई कृष्णनगर सीमाबाट उद्धार गरेको छ । उद्धार पश्चात् ती महिलाहरुलाई सोधपुछ तथा परामर्श गर्दा इराक र ओमान जान लागेको खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उद्धार गरिएकाहरु विभिन्न जिल्लाका महिला तथा किशोरीहरु थिए । 

२० वर्षदेखि ४० वर्षका महिलाहरुलाई अनेकौ प्रलोभनमा पारी विभिन्न बिचौलीयाहरुको माध्यम र प्रयोगबाट भारत लाने र त्यहाँबाट तेस्रो मुलुक पठाउने गरेको खुल्न आएको छ । सोधपुछको क्रममा पूरा नाम समेत थाहा नभएको तर काठमाडौंमा बस्ने भिम नाम गरेको व्यक्तिले पठाएको पीडितहरुले प्रहरीसमक्ष बयान दिएका छन् । 

सीमा पार गर्दा अलग अलग गरेर जाने र सोधपुछ गर्दा सत्य नबताउने र बजार जान लागेको भनेर झुटो बोल्दा बिचौलियालाई नियन्त्रणमा लिन असहज हुने आफन्त नेपालकी परामर्श दाता अनिता कोइरालाले बताइन् ।

बाध्यताले फस्दै
गरिबीले थिचोमिचो बनाएको जीवन, कयौंको श्रीमानको सहायता नहुँदा र घरमा राम्रो सल्लाह सुझाव दिने व्यक्ति नहुँदा यस्ता घटना हुने गरेको आफन्त नेपालकी बोर्डर इन्चार्ज जेनिसर सुनारी बताउँछिन् ।

शंस्कास्पद व्यक्तिहरुको विभिन प्रमाणहरु भएपनि पीडित पक्ष मौन बस्दा कयौं घटनामा बिचौलियाहरुले उन्मुक्ति पाएको सुनारीले बताइन् । कयौं घटनामा पीडितहरुको असहयोगका कारण बिचौलियालाई कानूनी कठघरामा ल्याउनसमेत असहज हुने सुनारिले बताइन् । 

उद्धार गरिएका केही महिलाहरुको पारिवारिक पुनर्मिलन भैसकेको र केही आफन्त नेपालको सुरक्षित आवास गृहमा रही विभिन्न सीप आर्जन गरिरहेको सुनारीले बताइन् । मध्यान्ह दैनिक

२ बर्ष अगाडि

प्रतिक्रिया