नेपाल टेलिकमको एमडी खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न आवेदन माग

२ बर्ष अगाडि

सूचना तथा संचार मन्त्रालयले नेपाल टेलिकमको प्रवन्ध निर्देशक (एमडी)का लागि आवेदन माग गरेको छ । खुला प्रतिस्पर्धाबाट एमडी नियुक्त गर्नका लागि मन्त्रालयले बुधबार दरखास्त आह्वान गरेको हो ।

सरकारी स्वामित्वको दूरसंचार कम्पनी टेलिकमको एमडी बन्न चाहने आकांक्षीले  पुस ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ। अहिलेका एमडी डिल्लीराम अधिकारीको पदावधि पुस २२ गते सकिँदै छ । 

एमडी बन्नका लागि वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ मध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिन सक्ने शैक्षिक योग्यता तोकिएको छ।

नेपाल दूरसंचार कम्पनी लिमिटेड वा सोही प्रकृतिका दूरसंचार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायको व्यवस्थापकीय पदमा कम्तीमा तीन वर्षसहित १२ वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान राखिएको छ।

उम्मेदवारले पेस गरेको व्यवसायिक कार्ययोजना र सोको प्रस्तुती, शैक्षिक योग्यता, अनुभव र अन्तर्वार्ताको मूल्यांकनका आधारमा नियुक्तिका लागि मन्त्रालय समक्ष पेश गर्ने जनाएको छ।

मन्त्रालयले व्यवस्थापकीय पदलाई समेत खुलाउँदै तहगत व्यवस्था भएका निकायका हकमा दसौं वा सो भन्दा माथिल्लो तह र श्रेणीगत व्यवस्था भएका निकायकोहकमा राजपत्राङ्कित प्रथम श्रेणी वा सो भन्दा माथिको श्रेणी भनेर उल्लेख गरेको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया