ओमिक्रोनबाट जोगिन धनी राष्ट्रहरूद्धारा बूस्टर मात्रा सार्वजनिक गर्ने तयारी तीव्र

शुक्रबार, २४ मंसिर २०७८, १३ : २७

एजेन्सी - विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले ओमिक्रोन भाइरस तीव्र गतिमा फैलिएसँगै धनी राष्ट्रहरूले कोरोनाविरुद्धको खोप भण्डारण सुरु गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

धनी मुलुकले खोप भण्डारण गर्दा खोप प्राप्त गर्न नसकेका राष्ट्रहरूमा खोप आपूर्ति प्रभावित पार्न सक्ने डब्लुएचओको भनाइ छ । विश्व स्वास्थ्य संगठनले बुस्टर मात्रा भन्दा सुरुवाती मात्रा उपलब्ध गराउने कार्य नै प्राथमिकतामा पर्नुपर्ने जनाएको छ । 

डब्लुएचओकी खोप सम्बन्धी निर्देशक केट ओ ब्रायनले धनी राष्ट्रहरूलाई खोप दान गर्ने कार्य जारी राख्न आग्रह गरेकी हुन् । ओमिक्रोन भाइरसबाट जोगिनका लागि कतिपय धनी राष्ट्रहरूले बूस्टर मात्रा सार्वजनिक गर्ने तयारी तीव्र पारेका छन् । 

खोप उत्पादक फाइजरले गरेको पछिल्लो अध्ययनमा फाइजर खोपले ओमिक्रोनविरुद्ध एन्टिबडी उत्पादन गर्ने अध्ययनले देखाएको छ । प्रारम्भिक तथ्या‌क अनुसार ओमिक्रोनले मानिसहरूलाई डेल्टा लगायतका भेरियन्टभन्दा बढी बिरामी नपार्ने देखिएको छ । 

प्रारम्भिक अनुसन्धानमा ओमिक्रोन निकै संक्रामक हुनसक्ने तर यसले मानिसहरूलाई तुलनात्मक रूपमा धेरै गम्भीर अवस्थामा भने नपुर्‍याएको देखिएको छ ।

शुक्रबार, २४ मंसिर २०७८, १३ : २७

प्रतिक्रिया