मूल्य वृद्धिको दुई दिन नबित्दै आईओसीले पठायो ८ रुपैयाँ बढाएर पेट्रोलको नयाँ मूल्य

१ बर्ष अगाडि

काठमाडौं-  भारतीय आयल निगम(आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले प्रत्येक अंग्रेजी महिनाको १ र १५ तारिखमा अन्तर्राष्ट्रिय बजारमा भएको घटबढ अनुसारको नयाँ मूल्य सूची पठाउने गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले नेपालले खरिद गर्ने प्रशोधित तेलको मूल्य समेत बढेको निगमले जनाएको छ । आईओसीले सोमबार पठाएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ, डिजेलमा ४ रुपैयाँ र हवाई इन्धनमा ७ रुपैयाँ बढेर नयाँ मूल्यसूची आएको छ ।


नेपाल आयल निगमले स्थानीय चुनाव लगत्तै मात्र पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँको दरले मूल्य वृद्धि गरेर पेट्रोल १७०, डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पु¥याएको थियो। बढेको मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा पनि १५ दिनमा झन्डै सवा ४ अर्ब रुपैयाँ घाटा रहेको निगमले बताउँदै आएको छ ।

अहिलेको नयाँ मूल्यमा बेच्नमा पनि पेट्रोलमा १४ रुपैयाँ, डिजेलमा ३१ रुपैयाँ, मट्टितेलमा १२, हवाई इन्धनमा १२ रुपैयाँ र एलपीजी ग्याँसमा प्रति सिलिन्डर १ हजार ५० रुपैयाँ घाटा रहेको बताउँदै आएको छ । नयाँ मूल्य सूची अनुसार निगमको घाटा पुनः बढ्ने देखिएको छ ।

रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रय बजारमा इन्धनको मूल्य उच्च दरले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय ११ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

पेट्रोलियम पदार्थमा धान्नै नसक्ने मूल्यवृद्धि भएपछि सरकारले बजेटमार्फत निगमले परल मूल्यमै बेच्ने जनाएको छ । परल मूल्यमै बेच्दा ग्याँसको मूल्य २६ सय ५० रुपैयाँ, पेट्रोल र डिजेलको मूल्य १८५ रुपैयाँ बराबर हुनेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया