मासिक न्यूनतम ३ लाख तलब सहित पहिलो चरणमा २ हजार नर्सलाई बेलायत पठाउने तयारी

आइतबार, २९ जेठ २०७९, १८ : ४०

नेपाली नर्सलाई बेलायतमा पठाउने तयारी भइरहेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार पहिलो चरणमा स्वास्थ्य क्षेत्रमा २ हजार नर्सलाई बेलायतमा रोजगारीका लागि पठाउने तयारी भएको छ । 

शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच श्रम सम्झौता गर्ने सहमति भएको थियो।

बेलायत सरकारको माग अनुसार स्वास्थ्य क्षेत्रमा पहिलो चरणमा २ हजार नर्स पठाउने तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले बेलायतसँग श्रम सम्झौताको मिति तय गर्नेछ।

मापदण्ड के के ?

श्रम सम्झौता पत्रको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेको छ। उक्त मस्यौदामा नेपाली नर्सको योग्यता, अध्ययनसँगै तालिम, अंग्रेजी भाषा र अनुभवलाई समेटिएको श्रम मन्त्रालयले जनाएको छ।

रोजगारीका लागि बेलायत जान चाहने नर्सहरूले इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस)परीक्षामा ६ अंक प्राप्त गर्नुपर्ने प्रस्ताव बेलायतले गर्दै आएको थियो।

तर, दक्षताका आधारमा उनीहरूले आईईएलटीएसमा ५.५ अंक ल्याए पनि मान्यता दिनुपर्ने अडान नेपालको छ। सोही अनुसार नै मस्यौदाको खाका तयार भएको श्रम मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।

नर्सिङ पढेका, अस्पतालमा काम गरिरहेका नर्सहरूलाई अनुभवका आधारमा लिइने छ। अन्तर्राष्ट्रिय भाषाको परीक्षा लिएर मात्र लैजाने गरी मस्यौदा तयार भएको छ। बेलायत जाने नर्सहरूले मासिक न्यूनतम ३ लाख कमाउने छन्।

रोजगारीमा जाने नर्सको बेलायत जाने खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नेछ। 

आइतबार, २९ जेठ २०७९, १८ : ४०

प्रतिक्रिया