करिब ६ अर्बको लगानीमा काठमाडौंको महाराजगञ्जमा भूकम्प प्रतिरोधी अपार्टमेन्ट निर्माण हुने

बुधबार, ०४ साउन २०७९, १० : २४

काठमाडौं - काठमाडौंको महाराजगञ्जमा भूकम्प प्रतिरोधी अपार्टमेन्ट निर्माण हुने भएको छ । भूकम्प गएको ७ वर्षपछि करिब ६ अर्बको लगानीमा नयाँ अपार्टमेन्ट निर्माण गर्न लागिएको हो । 

अपार्टमेन्ट निर्माण कम्पनी कर्मा ग्रुपले यसअघि बनेका अपार्टमेन्टको भन्दा फरक प्रविधि प्रयोग गरेर निर्माण गर्ने बताएको छ । पार्क भ्युबाट २ किलोमिटरभन्दा कम दूरीमा १५ तले टावर कर्मा रेसिडेन्सी निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । 

अपार्टमेन्टहरू सुरक्षित र सुविधा सम्पन्न हुने कम्पनीको दाबी छ । व्यवसायी कर्मा तेन्जिङको लगानीमा निर्माण हुन लागेको अपार्टमेन्ट ३ वर्षमा सकिने छ ।

२०७२ सालको भूकम्पपछि बन्न लागेको यो अपार्टमेन्ट भूकम्प प्रतिरोधि पहिलो अपार्टमेन्ट भवन बन्ने कम्पनीको दाबी छ । २ र ३ बीएचके अपार्टमेन्ट रहने कर्मा रेसिडेन्सीमा प्राइभेट गार्डेनको समेत सुविधा उपलब्ध हुनेछ । 

अबको १८ महिनामा संरचना निर्माणको काम सकिने र बाँकी १८ महिनामा इन्टेरियर डिजाइनको काम पूरा गर्ने कर्माको योजना छ । अपार्टमेन्ट तीनवटा बिल्डिङमा निर्माण हुनेछ । 

प्रत्येक भवनमा २ तला बेसमेन्टमा पार्किङ हुनेछ भने बाँकी १२ तलामा अपार्टमेन्ट र एक तलामा अन्य सुविधागरी १५ तलाको हुनेछ । भवनमा १६२ युनिट अपार्टमेन्ट हुनेछन् ।


 

बुधबार, ०४ साउन २०७९, १० : २४

प्रतिक्रिया