परराष्ट्र मन्त्रालयको विशेष अनुरोधमा, हिमालय एअरलाइन्स्ले माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका लागि साउन २४ गते चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर उडान सञ्चालन गर्ने विशेषाधिकार प्राप्त गरेको थियो । परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको एघार सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस A319, 9N AJK को उडान नं. H9 ७२२० ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो राति ११.०७ बजे (स्थानीय समय) मा प्रस्थान गरिएको थियोे र छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा (IATA: TAO, ICAO: ZSQD) आज बिहान ७.५५ बजे (स्थानीय समय) मा अवतरण गरिएको छ ।
छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि साउन २६ मा अपरान्ह ३.०० बजे (स्थानीय समय) प्रस्थान गर्ने उडान H9 ७२२१ मार्फत प्रतिनिधिमण्डलका सदस्यहरु फर्किनु हुनेछ र सोहि दिन अपरान्ह ४ः५० मा (स्थानीय समय) काठमाडौं आइपुग्नु हुने अपेक्षा गरिएको छ ।
सन् २०२० मा फैलिएको कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाई यात्रा दुबै देशले लागु गरेका विभिन्न यात्रा प्रतिबन्ध पश्चात ठप्प भएको थियो । यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतातर्फ फर्किएपछि, हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा सुरु गरेको थियो ।
काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एअरलाइन्स्ले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर उडान सञ्चालन गरेको हो ।
हिमालय एअरलाइन्स् को बारेमा
नेपाली नागरिकहरुसँग अन्य राष्ट्रहरुका नागरिकहरुको सम्पर्क प्रवर्द्धन गर्ने तथा राष्ट्रको व्यापार र पर्यटनको प्रवर्द्धन गर्ने दुई प्रमुख उद्देश्यहरुका साथ नेपाल-चीन बीचको संयुक्त लगानीमा स्थापित हिमालय एअरलाइन्स् को स्थापना सन् २०१४ मा भएको थियो।
हिमालय एअरलाइन्स् जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतस्थित तिब्बत एभियशन डेभेलप्मेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (TADIC) र नेपालको काठमाडौँ स्थित यती वर्ल्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त सहकार्यमा सञ्चालित छ ।
आफ्नो स्थापनाको सात वर्षकै छोटो अवधिमा हिमालय एअरलाइन्स् ले आफ्नो जहाजको संख्यामा ४ वटा विमानहरू; १८० इकोनोमी सीटसहितका तीन ३२०-२१४ एअरबसहरु र १४४ इकोनोमी सीटसहितको एउटा एअरबस ३१९-११५, सञ्चालनमा ल्याएको छ । हिमालय एअरलाइन्स् ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख देशहरू: युएई , मलेसिया, कतार, साउदी अरेबिया, कुवेत र बंगलादेशलगायतका देशहरुमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ भने कार्गो उडानहरू विशेष रूपमा चीनबाट र चीनसम्म सञ्चालन गरिरहेको छ।
व्यावसायिक सञ्चालनको पहिलो वर्षमा, हिमालयले साउथ एशियन ट्राभल अवार्ड्स (SATA) २०१७ मा "दक्षिण एशियामा अग्रणी नव अन्तर्राष्ट्रिय एअरलाइन्स् " को रुपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्यो ।
सन् २०२० को अगस्तमा हिमालय एअरलाइन्स् ले गुणस्तरीय व्यवस्थापन प्रणाली (QMS) को लागि नेपालमैं पहिलो पटक आइ. एस. ओ. ९००१: २०१५ प्रमाणीकरण प्राप्त गर्यो । यस प्रमाणीकरणले आफ्नो व्यवस्थापनको हरेक क्षेत्रमा उच्चतम सम्भावित मापदण्डहरू प्रदान गर्ने एअरलाइन्स् को दृष्टिकोणअनुरूप जहाज मर्मत-सम्भार र इन्जिनियरिङ सेवाहरू उपलब्ध गराउने हिमालय एअरलाइन्स् को योग्यता पुष्टि गरेको छ।
सन् २०२१ को डिसेम्बरमा हिमालय एअरलाइन्स् सफलतापूर्वक अर्को आइ. एस. ओ. ९००१-२०१५ गुणस्तरीय व्यवस्थापन प्रणाली प्रमाणीकरण प्राप्त गर्ने नेपालको पहिलो वायुसेवा बन्यो । आइ. एस. ओ. ९००१-२०१५ को मापदण्डअनुरुप गुणस्तर व्यवस्थापन प्रणालीको पालना गरेवापत एअरलाइन्स् ले प्रमाणपत्र प्राप्त गरेको हो। हिमालयलाई "उड्डयन सम्बन्धित प्रशिक्षण सेवाहरूसहित हवाई यात्रुहरू र मालवाहक परिवहनहरूका" लागी आइ. एस. ओ. प्रमाणपत्र दिइएको हो। यस उपलब्धिले उच्च कार्यसम्पादन अभ्यासहरूप्रति कर्मचारीहरुको समर्पण र गुणस्तरप्रति एअरलाइन्स् को निरन्तर प्रतिबद्धत्ताको पुष्टि गर्दछ।
हिमालय एअरलाइन्स् ले सन् २०२१ बाट पहिलेको भन्दा सुरक्षित उडान सुनिश्चित गर्न आफ्ना सबै जहाजहरुमा जीवन बचाउने यन्त्र - स्वचालित बाह्य डिफिब्रिलेटर (AEDs) जडान गर्यो । यससँगै हिमालय एअरलाइन्स् उक्त यन्त्र जडान गर्ने पहिलो र एक मात्र नेपाली एअरलाइन्स् बनेको छ । सुरक्षा, समयमै कार्यसम्पादन (OTP) र मुख्यतया आफ्ना ग्राहकहरूको सेवामा उत्कृष्टता हासिल गर्ने लक्ष्यसहित हिमालय एअरलाइन्स् ले आफूलाई भरपर्दो एअरलाइन्स् को रूपमा स्थापित गरेको छ र दक्षिण एशियामा अग्रणी एअरलाइन्स् को रूपमा उभिने उत्कट अभिलाषा राखेको छ ।
प्रतिक्रिया