अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ किन उकालो लाग्दै छ ?

१ बर्ष अगाडि

एजेन्सी - अमेरिकामा आँधी आउँदा फेरि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ । 

मेक्सिकोको खाडीमा आएको आँधीका कारण अमेरिकामा तेलको आपूर्ति अवरुद्ध हुँदा मूल्य उकालो लागेको हो । गत सोमबार कच्चा तेलको भाउ नौ महिनाकै न्यून विन्दुमा झरेको थियो । तर मंगलबार प्रतिब्यारेल करिब दुई डलरले बढेको छ । 

अमेरिकी अपतटीय तेल उत्पादकहरुले इयान आँधीलाई नजिकबाट निगरानी गरिरहेका छन् । जसका कारण मेक्सिकोको खाडीमा करिब ११ प्रतिशत तेल उत्पादन प्रभावित भएको छ । तेलको भाउ बढ्नुको अर्को कारण भनेको मंगलबार डलर भाउ घट्नु पनि हो । 

यसैगरी अक्टोबर ५ मा अपेक प्लस राष्ट्रहरुको बैठक बस्दैछ। बैठकमा तेल उत्पादन कटौती गर्ने निर्णय पनि हुन सक्छ । यही कारणले मंगलबार अन्तर्राष्ट्रियस्तरमा कच्चा तेलको मूल्य बढेको जानकारहरु बताउँछन् । 

मंगलबार ब्रेन्ट क्रुडको भाउ २.२१ डलरले बढेर प्रतिब्यारेल ८६.२७ डलर पुगेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) पनि १.७९ डलर बढेको छ। यो प्रतिब्यारेल ७८.५० डलर पुगेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया