व्यवसायीहरूले सडक रोज्ने होइन : अर्थमन्त्री शर्मा

विहीबार, २२ मंसिर २०७९, १६ : ५४

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीहरू सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीहरूका समस्या समाधानको लागि सरकार गम्भीर रहेको भन्दै उद्योगी व्यवसायीहरू सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताए । 

उनले भने–, ‘अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्र,राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि राखेर कार्यदल बनाउन जिम्मा दिएको छ । अर्थ मन्त्रालयले उद्योगी व्यवसायीका कुरा सुनेर जिम्मा दिएको छ । कार्यदलले दिएको रिपोर्टअनुसार कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढेको छ । राष्ट्र बैँकको बोर्डमा अर्थ मन्त्रालयका सचिवले विषयलाई अगाडि बढाए र गभर्नरलाई निर्देशन गरेको हो । तर पनि अर्थतन्त्रमा देखिएका समस्या समाधान नभए पश्चात प्रधानमन्त्रीसँग मन्त्रिपरिषद्‌मा नै व्यवसायीहरूको समस्यालाई राखेर प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेको छु । व्यवसायीका समस्यालाई सम्बोधनका लागि प्रधानमन्त्रीले हस्तक्षेप गर्न आग्रह गरेको छु । व्यवसायीहरू व्यवसायमा हुनुपर्छ सडकमा आउने होइन । व्यवसायीहरूले सडक रोज्ने होइन । कुनैपनि व्यवसायी सडकमा जानुपर्दैन । सरकार नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदा हुँदै व्यवसायीहरूले सडक किन रोज्ने ? अहिले चुनाव सकिएको छ । पाँच वर्षका चुनावका उठ्ने भए सडक आन्दोलन पछि गर्नुहोला । सडकमा आन्दोलन गर्ने व्यवसायीहरूको काम होइन । अहिले व्यवसायीहरू उत्पादन व्यवसायमा लाग्नुस् ।’

उनले सरकारले तरलता तथा बैंक ब्याजदर वृद्धि लगायतले उद्योग व्यवसायीहरुका समस्या समाधानको लागि निजी क्षेत्र,राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहितको कार्यदल दिएको सुझावका आधारमा काम भइरहेको बताए । उनले मन्त्री परिषदमा सरकारको निजी क्षेत्रका समस्या समाधान गर्न हस्तक्षेप गर्नुपर्ने माग राखेको बताए । मन्त्री शर्माले उद्योगी व्यवसायीहरुले सडक रोज्नु नहुने भन्दै सरकारले कुनैपनि व्यवसायी सडकमा आउनुपर्ने वातावरण नबनाउने बताए । उनले सरकार व्यवसायीहरूका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीहरूले सडक रोज्न नहुने बताए । 

मन्त्री शर्माले व्यवसाय नै छोडेर सडकमा आन्दोलन गर्ने व्यवसायीहरूको काम नभएको बताए । उनले बैंकको ब्याजदर वृद्धि, चालु पुँजी कर्जा निर्देशिकाको सन्दर्भमा सरकारले गम्भिरतापूर्वक छलफल गरिरहेको बताए । उनले सरकार निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै बलियो अर्थतन्त्र बनाउन आवश्यक रहेको बताए । उनले व्यवसायीहरूले निजी क्षेत्र निराश छन्, अर्थतन्त्र संकटमा छ जस्ता अभिव्यक्ति नदिन आग्रह गरे ।

उनले भने– ‘बैँकको ब्याजदर वृद्धि,चालु पुँजी कर्जा निर्देशिकाको सन्र्दभमा सरकारले गम्भिरतापूर्वक छलफल गरिरहेको छ । व्यवसायीहरूको समस्यालाई समाधान गरेर सहज बनाउने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको छ । समस्या समाधान गर्दै अर्थतन्त्रलाई बलियो बनाउने कुरा गर्नुपर्छ । निजी क्षेत्र निराश भयो, अर्थतन्त्र संकटमा छ भनेर अभिव्यक्ति नदिनुस् ।’

मन्त्री शर्माले अटो व्यवसायीहरूले उठाएको ५० प्रतिशत एलसी मार्जिन लगायतका व्यवस्थाको म्याद थप नहुने बताए । उनले सरकारले अटो व्यवसाय क्षेत्रमा गरिएका नीतिगत व्यवस्थाहरुको विषयमा गम्भीर रुपमा छलफल भएर निर्णय भएको भन्दै राजपत्रमा प्रकाशित भएपछि लागू हुने बताए । उनले अटो व्यवसायीहरूका माग सम्बोधन गर्ने पक्षमा रहेको बताए । उनले सरकार अर्थतन्त्रमा समस्या गर्न नदिने गरी अगाडि बढ्न तयार रहेको बताए । मन्त्री शर्माले प्रदर्शनी हल बनाउन निजी क्षेत्र तयार भए सरकार सहमति गर्न तयार रहेको बताए ।

मन्त्री शर्माले उद्योगी व्यवसायीहरूले माग नभए भनेपछि अनुदान ८ प्रतिशत बनाएको निर्यात गर्न सुरु गरेका सिमेन्ट उद्योगीहरु हराएको भन्दै टिप्पणी गरे । उनले अनुदान र १ प्रतिशत मात्रै करको व्यवस्था गरे पनि व्यवसायीहरू निदाएको बताए ।

विहीबार, २२ मंसिर २०७९, १६ : ५४

प्रतिक्रिया