काठमाडौँ- यस वर्ष नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
यस मेलाबारे उद्योग वाणिज्य महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा नवौं संस्करणको जानकारी गराइएको हो ।
महासंघले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय व्यापार मेला गएको दुई वर्ष कोरोनाको कारण हुन सकेको थिएन । अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन चाहनेका लागि बिहीबारबाट नै स्टल बुकिङ खुला गरिएको महासंघले जनाएको छ ।
महासंघका अनुसार यस वर्षको मेलाको लागि चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानबाट सहभागिता रहने छ । ‘मेलामा नेपाली हस्तकला र एनटीआईएस प्रोडक्टका साथै मेड इन नेपाल वस्तुको प्रदर्शनी गरिने छ’ महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘यो वर्ष पहिलो पटक महासंघका १२३ वटा सदस्य वस्तुगत संघहरुका उत्पादन तथा सेवाको विशेष प्रदर्शनी हुनेछ ।’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको बताइएको छ । कुल ३०० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी तथा विदेशी वस्तु र सेवाको प्रर्दशनी गरिने महासंघले जनाएको छ ।
प्रतिक्रिया