कालिमाटीमा भित्रियो ११ सय २७ टन तरुल

शनिबार, ३० पुस २०७९, ०९ : ३५

काठमाडौं-  माघी नजिकिँदै गर्दा काठमाडौंको कालीमाटी तरकारी बजारमा १ हजार १ सय २७ टन तरुल भित्रिएको कालीमाटी तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताएका छन्।

‘अहिले १ हजार १२७ टन तरुल बजारमा आइसकेको छ। अझै आउने क्रम पनि जारी छ। जसमध्ये ९ प्रतिशत मात्रै भारतबाट आयात भएको छ,’ उनले भने।श्रेष्ठका अनुसार विभिन्नथरीका तरुल कालीमाटी बजारमा भित्रिन्छन्। ‘तरुल यति किसिमका भन्ने हुँदैन। विभिन्न ठाउँअनुसारका तरुलका नाम हुन्छन्। किसानले फरकफरक किसिमका नाम दिएका हुन्छन्,’ उनले भने।जसमध्ये पाँचऔंले, सिंगाने पिंडालु, दूधे पिंडालु, घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पातले, आकाशे तरुल, नेपाली तरुल, रातो तरुल लगायतका तरुल कालीमाटी तरकारी बजारमा किन्न पाइन्छ।

अहिले कालीमाटी तरकारी बजारमा तरुलको औसत मूल्य प्रतिकेजी ६६।६७ रुपैयाँ रहेकोछ। जसमध्ये सर्लाहीको तरुल प्रतिकेजी ६० देखि ७० रुपैयाँसम्म बिक्री भइरहेको छ। तराईको हात्तीपाइले तरुल प्रतिकेजी ५० रुपैयाँमा बिक्री भइरहेको छ।पहाडी हात्तीपाइले तरुल प्रतिकेजी ८० देखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। घरतरुल ७० देखि ८० रुपैयामा बिक्री भइरहेको छ भने वन तरुल प्रतिकेजी १५० देखि २०० सम्म बिक्री भइरहेको छ।स्कुसको जरा १५० देखि १८० सम्ममा बिक्री भइरहेको छ। सिमल तरुल ४० देखि ७० रुपैयाँसम्म बिक्री भइरहेको छ। पिँडालु प्रतिकेजी ४० देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ। त्यस्तै सखरखण्ड प्रतिकेजी ५० देखि ६० रुपैयाँसम्ममा बिक्री भइरहेको कालीमाटी तरकारी बजारले जनाएको छ।

नेपालको सर्लाही जिल्लाबाट सबभन्दा ठूलो परिमाणमा तरुल आउने गरेको श्रेष्ठ बताउँछन्। यसका साथसाथै सुनसरी, धादिङ, काभ्रे, चितवन लगायतका जिल्लाबाट समेत ठूलो परिमाणमा तरुल आउने गरेको श्रेष्ठले बताए।केही परिमाणमा मात्र भारतबाट आउने गर्छ जसमध्ये १७७ टन भारतबाट तरुल आउने गरेको श्रेष्ठ बताउँछन्। भारतबाट आउने तरुल ९ प्रतिशत मात्र हो।

‘तरुल विशेष गरी नेपालमै उत्पादन हुन्छ। भारतबाट नआउँदा पनि खासै फरक त पर्दैन। तर व्यापारीहरुको सम्पर्क हुन्छ। उनीहरुले आफ्नो पायक पर्ने स्थानबाट ल्याउने हो। व्यापारिक सम्पर्कको हिसाबले भारतबाट आउने हो तर नेपालको उत्पादनले नपुग्ने भएर होइन,’ उनले भने।उनी गत वर्ष र अहिले बराबर परिमाणमा तरुल आउने बताउँछन्। ‘११२७ टन आइसकेको छ। अघिकल्लो वर्ष र यो वर्षको कालिमाटी तरकारी बजारमा भित्रिएको तरुल करिब हाराहारीमा छ। अघिल्लो सालको पुस महिनाभरिमा १३२६ टन तरुल आएको थियो,’ उनले भने।

२०७६ मा तरुलको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ थियो। २०७७ सालमा ६ रुपैयाँले बढेर तरुलको औसत मूल्य प्रतिकेजी ७६ रुपैयाँ पुगेको थियो। 

शनिबार, ३० पुस २०७९, ०९ : ३५

प्रतिक्रिया